काठमाडौँ — लेबनानमा कार्यरत नेपाली श्रमिकले ‘इजरायल–लेबनानको सीमा क्षेत्रमा भइरहेको युद्ध’ले आफूहरू आत्तिहाल्नुपर्ने अवस्था नभएको भन्दै ढुक्क भएर आफ्नो नियमित काम गरिरहेको बताएका छन् ।
लेबनानको मुख्य सहर बेरुतमा १५ वर्षदेखि कार्यरत अशोक थापाले इजरायल र हजबुल्लाहबीच भइरहेको युद्धबाट पर्न सक्ने जोखिमबारे आफूहरू सचेत भएर बसेको बताए । ‘इजरायलले आक्रमण गरेको क्षेत्र हामी बसेको ठाँउबाट पुग्न दुई घण्टा लाग्छ । यो ठाउँमा मुस्लिम समुदायको बाहुल्यता छ । यहाँ नेपाली रहेको सूचना हामीसँग छैन,’ उनले कान्तिपुरसँग फोनमा भने, ‘हामी बेरुतमा सामान्य जीवन बिताइरहेका छौं । नियमित काम गरिरहेका छौं ।’
उनले नेपालीहरूबीच एकआपसमा समन्वय बढिरहेको बताए । ‘को कुन ठाँउमा छौं । सुरक्षित र असुरक्षित के छ भनेर हामीले एक आपसमा सूचनाहरू आदानप्रदान गरिरहेका छौं । जबसम्म बेरुतको मुख्य सहरमा तनाब बढ्दैन । तबसम्म हामी आत्तिहाल्नुपर्ने अवस्थामा छैन,’ उनले भने, ‘हामीलाई कम्पनीले पनि तनाव लिनुपर्दैन भनेर आडभरोसा दिइरहेको छ ।’
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार लेबनानको दक्षिण भेगमा इजरायलको आक्रमणबाट कम्तीमा ४९२ जनाको मृत्यु हुनुको साथ १६ सय जना घाइते भए । यो २००६ यताको सबैभन्दा भयनक क्षति हो । सोमबारको आक्रमणविरुद्ध इरान समर्थित लडाकु समूह हिज्बुल्लाहले इजरायलको उत्तरी भेगमा पनि आक्रमण बढाइरहेको छ । लेबनानको दक्षिणी भेगबाट विस्थापित भएका सयौं स्थानीय बासिन्दाहरू बेरुत पुगिसकेका छन् ।
‘म बेरुतको मुख्य सहरबाट १० किलोमिटर टाढा बस्छु । यहाँ हामीले बम पड्केको आवाज सुन्दैनौं । हामीले पनि मोबाइलमा भिडियो हेरेर थाहा पाउने हो । बेला बेला आकाशमा फाइटर बिमानले धुवाँको मुस्लो फालेर जान्छ । त्यो आकाशमा नै पड्किन्छ । यसले हामीलाई सचेत बनाइरहेको हो,’ उनले भने, ‘कम्पनीले हामीलाई यो युद्धको वास्ता गर्नुपर्दैन । केही पनि हुँदैन । खानेकुरा ल्याएर भने राख्नु भनेको छ ।’
बेरुतमै रहेकी चन्द्रा जोशीले युद्ध भइरहेको लेबनानको सुर, न्याकुरा, साइदा, जुनुब, हेर्मेल र तर्सिस भन्ने स्थानमा नेपाली नरहेको बताइन् । ‘हाम्रो रोजगारदाताले युद्धबारे हामीसँग खासै कुरा गर्दैन । लेबनानमा यस्ते हुन्छ । यता युद्ध हुँदैन । उता बोर्डरतिर मात्रै हुन्छ भन्छन्,’ उनले भने, ‘युद्धसम्बन्धी समाचार आएको विषय हामीलाई भन्दैन । हामी पुग्दा न्युज च्यानल परिवर्तन गर्छन् । हामीलाई डराउनु पर्दैन भन्छन् । हामीले सोध्यो भने मात्रै युद्धको विषयमा जवाफ दिन्छन् ।’
१० वर्षदेखि लेबनानको ब्रुमानामा कार्यरत रसुवाकी श्रेय थोकरले ‘आफूलाई मालिकले नडराउनु, केही हुँदैन’ भन्ने गरेको बताइन् । ‘तिमीलाई डर लाग्छ भने टिकट काटेर पठाइदिन्छु । हामी बसेको ठाउमा बम र रकेट आउँदैन भन्छन्,’ थोकरले कान्तिपुरसँग भनिन्, ‘केही भए साहुसाहुनीले पठाइदिने कुरा छ । म त ढुक्कले काम गरिरहेको छु ।’
गत जुलाइमा इजरायलले बेरुतमा हमला गरेर हिजबुल्लाहका वरिष्ठ सैन्य कमाण्डर फुआद शुक्रलाई मारिदिएपछि इजरायल–हिजबुल्लाहबीच तनाव बढिरहेको छ । सीमा वारपार लडाइ भइरहेपछि दुवै तर्फ आफ्नो घरबाट विस्थापित हुनेको संख्या बढिरहेको छ । इजरायलले उत्तरी क्षेत्रबाट विस्थापित भएका १० औं हजारलाई पुनर्स्थापना गर्न लेबनानमा आक्रमण बढाउने नीति लिएको छ । लेबनानको दक्षिण भेगबाट लाखभन्दा बढी मानिस विस्थापित भएर बेरुत आसपासका क्षेत्रमा आइरहेका छन् । उनीहरूलाई विद्यालयहरूमा राखिएको छ ।