लुटेराको गोली लागेपछि…

9 May, 2023

अस्टिन, अमेरिका — सुन्दर भविष्य कल्पेर ९ महिनाअघि अमेरिका आइपुगेका रुकुमका भीमबहादुर थाम(राम क्षेत्री) को जीवन अहिले भुमरीमा फसेको छ । ग्यास स्टेसन लुट्न आएकाले लुटेराले देब्रे तिघ्रामा गोली हानेपछि उनी उपचारकै लागि अरुको भरपर्नु परेको छ । टेक्ससको राजधानी अस्टिनमा बस्दै आएका उनी गो फन्डमार्फत उपचार खर्च जुटाइरहेका छन् ।

बिहीबार अस्टिनस्थित उनको डेरा पुग्दा वैशाखीको सहारामा हिँड्दै थिए उनी । हातमा अस्पतालको कागजपत्रसहितको रातो झोला पनि थियो । रुकुमकै चिनेका नेपाली साथीले उनलाई अस्पतालबाट घर छाडिदिएका थिए । गत भदौदेखि उनी अस्टिनकै एउटा ग्यास स्टेसनमा काम गर्न थालेका थिए । बेलुका ७ बजे देखि बिहान ७ बजेसम्म सातै दिन उनको ड्युटी हुन्थ्यो । गत फागुन ९ गते बेलुका पनि सधैंझै उनी काममा गए । ३ जनाले आलोपालो मिलाएर काम गर्नुपर्थ्यो । कहिले सरसफाइका काम त कहिले रजिस्टर गर्ने काम ।

‘खासमा ३ जनाले गर्नुपर्ने काम हो, तर पैसा बचाउन धेरै घण्टा काम गर्ने गर्थेम्,’ उनले भने, ‘अर्को मान्छे रजिस्टरमा हुँदाहुँदै धेरैजसो काम गरिसक्नुपर्थ्यो ।’ अर्का नेपाली साथीको घर जाने बेला भएपछि राम रजिस्टरमा बसे । ग्राहक आउने–जाने गरिरहेका थिए । ९ बजेतिर एउटा ग्राहक आएर चिठ्ठा खेल्दै थियो । राम काउन्टरमा उभिइरहेका थिए । खरानी रंगको हुडी लगाएको व्यक्ति अचानक हातमा सटगन बोकेर भित्र पस्यो । सिधै राम बसेको ठाउँमा पुगेर इशाराले ‘पैसा दे’ भन्यो । ‘मैले हुन्छ भन्दै रजिस्टर खोल्न थालेँ,’ उनले भने ‘इमर्जेन्सी बटन दबाएर रजिस्टर खोलिदिनुपर्ने थियो, मैले सामान्य अवस्थाको जसरी नै रजिस्टर खोलेँ, सायद उसलाई समय लगाएको जस्तै लागेर मलाई गोली हान्यो ।’

अमेरिकाको रिटेल स्टोरमा काम गर्ने कामदारलाई हतियार बोकेर कोही स्टोरमा छिर्दा वादविवाद नगरी लुट्न आएका व्यक्तिले जे भन्छन् त्यही मान्न सिकाइएको हुन्छ । नयाँ मान्छे काममा राख्दा सक्रिय बन्दुकधारी आए के गर्ने भनेर तालिम नै दिइन्छ । रामलाई पनि सिकाइएको थियो । ‘मलाई अझै पनि थाहा छैन, मैले किन इमर्जेन्सी बटम दबाइनँ, दबाइदिएको भए मेरो यो अवस्था हुँदैन थियो होला,’ उनी भन्छन् ।

तिघ्रामै गोली लागेपछि राम भुईंमा ढल्छन् । लुटेरा पछाडि फर्किएर हिँडछ, अनि फेरि फर्किएर राम भएतिर नै आउँछ । ‘मैले रजिस्टर खोल्नुअघि नै गोली हानिसकेको थियो, फेरि फर्केर आउँदा त मार्छ नै जस्तै लाग्यो,’ उनले भने, ‘अनि एउटा हातको सहाराले तन्किएर रस्जिटर खोलिदिएँ ।’

स्टोरको सीसीटीभीमा लुटेराले उनलाई गोली हानेको देखिन्छ । रजिस्टर खुलेपछि लुटेरा पैसा लिएर जान्छ । लुटेरा गएपछि रामले नेपाली स्टोर व्यवस्थापकलाई फोन गरेपछि प्रहरी आएको थियो । लुटेराको गोलीले उनको तिघ्राको हड्डी फुटेको छ । एक्सरे कागजमा हड्डीका टुक्रा छरपस्ट देखिन्छ । गोली लागेपछि अस्पताल भर्ना भएका उनलाई अस्पतालले तीन सातापछि डिस्चार्ज गरिदियो ।

भर्खरै नेपालबाट आइपुगेका उनको स्वास्थ्य बिमा छैन । बिमा नहुँदा अमेरिकामा स्वास्थ्य उपचार अत्यन्तै महँगो हुन्छ । उनलाई नियमित फलोअपमा अस्पताल जान पनि मुस्किल छ । हड्डीको बिचमा गएर गोली अड्किएकाले अझै निकालिएको छैन । ‘गोलीले उछिट्याएका हड्डीका टुक्रा अप्रेसन गरेर निकालिए । गोली ननिकालिन्जेलसम्म पूर्ण रूपमा म ठीक हुने हो कि होइन थाहा छैन,’ राम भन्छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024