रौतहटका एक युवकको भारतमा गोली हानी हत्या

18 Oct, 2023

रौतहटका एक युवकको भारतको बिहारमा गोली हानी हत्या गरिएको छ। रौतहट सदरमुकाम गौर नगरपालिका-९ का ४० वर्षीय दिलीप सिंहको भारतको रमगढवामा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका हुन्।

रमगढवामा रहेको शिव शक्ति राइस एन्ड फ्लोर मिलमा मुन्सीको रुपमा कार्यरत सिंह मिलको आर्थिक कारोबार सम्हाल्ने जिम्मेवारीमा थिए। मिलका लागि मुजफ्फररपुरबाट पैसा संकलन गरेर फर्केपछि सिंहलाई मिलको गेटमै अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका हुन्।

अत्यन्त नजिकबाट प्रहार भएको गोली सिंहको छातीमै लागेकोले सिंहको घटनास्थलमै मृत्यु भएको गौर नगरपालिका-९ का वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए।

सिंहलाई गोली प्रहार गर्ने समूह लुटेरा भएको अनुमान गरिएको छ। गोली प्रहार गरेपछि सिंहसँग भएको २९ लाख भारतीय रुपैयाँ पनि उक्त समूहले लुटेर भाग्न सफल भएको भारतीय प्रहरीले जनाएको छ।

सिंहलाई चार जनाको संख्यामा आएको समूहले गोली प्रहार गरेको जानकारीमा आएको वडाध्यक्ष सिंहले बताए।

घटनास्थलबाट बिआर २९ जी ७८५१ नम्बरको बोलेरो बरामद भएको छ। बोलेरो अपराधी समूहको हुन सक्ने पूर्वानुमान गर्दै भारतीय प्रहरीले घटनाको अनुसन्धानलाई गम्भीरतापूर्वक अगाडि बढाएको जानकारीमा आएको वडाध्यक्ष सिंहले बताए।

गाउँको एक सभ्य मानिसको गोली प्रहारबाट हत्या भएपछि वडा नम्बर ९ पूरै शोकमा डुबेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024