रोजगारी गुमाउनेमा ७० प्रतिशत महिला

11 Jun, 2021

काठमाडौं  : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्ने बताएकी छन्।

नेपाल उद्योग परिसंघअन्तर्गतको सीएनआई सीईओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका महिला नेतृहरूसँग ‘कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न नेतृत्वको भूमिका’ विषयक भर्चुअल कार्यक्रममा मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको भन्दै महिलाहरूलाई व्यवसायमा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन्।

व्यवसाय गर्न पुँजी र बजारको खोजीमा पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ। महिलालाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय सुरु गर्न पुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचका लागि सहयोग आवश्यक भएको उनले बताइन्।

महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउनेसम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू नै रहेको बताइन्। अनौपचारिक क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह रहेको उनको भनाइ छ। उनले कोभिडसँग जुध्न अग्रपंक्तिमा खट्ने जनशक्तिमा महिलाको संख्या ठूलो भए पनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर रहेको उल्लेख गरिन्।

‘अहिलेको संकटमा सबैको ध्यान नागरिकको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्छ’ उनले भनिन्, ‘गरिबहरूलाई परेको संकट, भविष्यमा आइपर्ने समस्या र त्यससँग जुधेर अघि बढ्न पर्याप्त तयारी नेतृत्व तहबाट हुनुपर्छ।’ 

युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताइन्। उनले कोभिडका कारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता औँल्याइन्। 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024