रोजगारीको गन्तव्य मुलुकमा खोप अनिवार्य गर्दा नेपाली कामदार अन्योलमा

9 Jul, 2021

मुकुन्द गैरे

काठमाडौं, असार २४ गते । रोजगारीका गन्तव्य मुलुकहरुले कोरोना विरुद्वको खोप लगाएका देशका कामदारलाई लैजान प्राथमिकतामा राख्न थालेपछि नेपाली कामदार अन्योलमा पर्न थालेका छन् । वैदेशिक रोजगारीमा जाने कामलाई खोपको व्यवस्था गर्न नसक्दा रोजगारीमा पठाउन नसकिएको वैदेशिक रोजगार व्यवसायीहरुले बताउन थालेका हुन् ।

कतारलगायत खाडी मुलुकमा नेपाली कामदारको माग बढदो क्रममा रहे पनि खोपको कारण नेपालमा आउने माग अर्को मुलुकमा जान थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल बताउनुहुन्छ ।

यूएई र कुबेतले खोपको नामै तोकेर कोरोना विरुद्वको खोप लगाएका कामदार मात्रै लिने गरेको उहाँ बताउनुहुन्छ ।

कतार, साउदी अरबिया, मलेशियालगायत मुलुकले पनि खोप लगाएका कामदारलाई प्राथमिकतामा राखेको देखिन्छ । यी देशले अहिले सम्म क्वारेन्टाइनमा बस्ने शर्तमा लैजाने गरेको भए तापनि विस्तारै खोपलाई अनिवार्य गर्ने देखिएको संघका सचिव भुर्तेल बताउनुहुन्छ ।

सरकारले रोजगारीमा जाने कामदारलाई प्राथमिकतामा राखेर खोपको व्यावस्था गर्न वैदेशिक रोजगार व्यवसायीहरुको माग गरेका छन् ।कतारमा विश्वकप फुटबल हुँदैछ, त्यसको लागि नेपाली सुरक्षा गार्डलगायत निर्माण क्षेत्रमा यो वर्ष डेढ लाख जति नेपाली कामदारको माग रहेको सचिव भुर्तेल बताउनुहुन्छ ।

हवाई उडान सुचारु भए पनि खोपका कारण वैदेशिक रोजगारी अन्योलमा परेको छ । निषेधाज्ञा अगाडि विभिन्न मुलुकबाट मागपत्र प्रमाणित भई पूर्वश्रम स्वीकृति लिएर भीसा लगाउन नपाएका एक लाख भन्दा बढी मागपत्र रहेको संघको भनाइ छ ।

पछिल्लो वर्ष विश्वमा फैलिएको कोरोनाको महामारीको कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भारी गिरावट आएको छ ।नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को दश महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६०.३ प्रतिशतले घटेको देखाउँछ ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ सरकारले खोप व्यवस्था गरेर भए पनि वैदेशिक रोजगारीमा जाने कामदारको लागि सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ ।अर्थविद् डा.चन्द्रमणि अधिकारी वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा भारी गिरावट आउँदा आगामी दिनमा रेमिट्यान्स आप्रवाहमा ठूलो प्रभाव पार्ने बताउनुहुन्छ ।

यसले दीर्घकालीन रुपमा बहुपक्षीय क्षेत्रमा असर गर्ने अर्थविद् डा. अधिकारी बताउनुहुन्छ ।वैदेशिक मुद्रामा कमी आउने, शोधान्तर बचत घटेर जाने र चालुखातामा समेत रेमिट्यान्सको कमीले असर गर्ने उहाँँको भनाइ छ ।

वैदेशिक रोजगारीमा जान खोज्ने कामदारलाई व्यवस्थित तरिकाले पठाउने र रोजगारीबाट स्वदेश फर्किएकाहरुको लागि स्वदेशमा काम गर्ने वातावरण वनाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024