रोजगारीका लागि विदेशिने जुम्लाका युवायुवती बढ्दै

7 Dec, 2022

गोल्डेन बुढा

जुम्लामा रोजगारीको अवसर नपाएपछि ७ सय २३ युवायुवती विदेशीएका छन्। जसमध्ये ५ सय ७८ युवा छन् भने १ सय ५५ युवती छन्। चालू आर्थिक वर्षको अहिलेसम्म ३ सय ८२ युवायुवतीहरू विदेशीएको जिल्ला प्रशासन कार्यालय जुम्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।

उनका अनुसार जिल्ला विभिन्न वडा स्तर देखि गाउँपालिका युवायुवतीहरु विदेशीएका हुन्। सबैभन्दा बढी कार्तिक महिनामा राहदानी बढी लिएका छन्। दशै र तिहारको माहोलले गर्दा बढेको उनको टिप्पणी छ। कात्तिकमा मात्रै १ सय ३० जनाले राहदानी लिएको उनको दाबी छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले चैत १८ गतेदेखि राहदानी वितरण गरेको थियो।

उनले भनिन्,‘अघिल्लो आर्थिक वर्षमा ३ सय ४१ युवायुवती विदेशीएका थिए। जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिनेको संख्या क्रमिकरूपले वृद्दि हुँदै गएको छ।’ विदेशिने युवायुवती दू्रत गतीमा राहदानी लिनेको संख्या वर्षेनि वृद्धि भएको तथ्यांकले देखाएको छ।

नेपालीहरुलाई विदेशमा कामसँगै ज्यानको जोखिम छ। भन्ने थाह छ, तर पनि राज्यले रोजगारी उपलब्ध नगरे पछि कमाउने बेला स्वदेशमा बसेर के गर्नु रु त्यसैले रहर भन्दा पनि बाध्यताले विदेश जानु परेको पातारासी गाउँपालिका २ पेरे गाउँका हर्कबहादुर बोहोराले बताए।

गुठिचौर–१ गोठि गाउँका कमल बस्नेतले भने, ‘जिल्ला प्रशासन कार्यालय जुम्लामा राहदानीका लागि एउटै गाउँका १० देखि १२ जना यूवायुवतीहरु आएका छौ। स्वदेशमा अर्थात जिल्लामै भने जस्तो रोजगारीको व्यवस्था छैन। विदेशिनु युवाहरुको बाध्यता हो।’ तर आम्दानी मुलक कुनै कार्यक्रम तथा आयआर्जनका लागि स्वदेशमा राम्रो व्यवस्था नभएकोले विदेशिनु परेको उनले दुखेसो पोखे।

सिंजा-६ का रामबहादुर रावतले स्वदेशमा पढेर पनि रोजगारी पाउन गाह्रो भएकोले विदेसिनु परेको बताए। जहान परिवार पालनपोषणको लागि भए पनि मातृभूमि छोड्नु परेको उनको भनाइ छ।

३/४ वर्ष पहिलेसम्म राहदानी लिने महिलाको संख्या शून्य हुने जुम्लामा पछिल्लो वर्ष वैदेशिक रोजगारीप्रति युवतीको पनि आकर्षण बढेको देखिन्छ। देशमा रोजगारीको अवसर नपाएपछि युवाहरू खाडीतिर जान बाध्य भएका हुन्। स्थानीय सरकारले दिने रोजगारी आफ्ना कार्यकर्तामुखी भए पनि विपन्न युवाहरू रोजगारीका लागि खाडी मुलुकमा जान बाध्य भएका छन्। स्थानीय सरकारले बितेको साढे ५ वर्षमा रोजगारीको सृजना गर्न सकेनन्। प्रधानमन्त्री रोजगार, मुख्यमन्त्री रोजगार कार्यक्रमले अल्पकालीन रोजगार दिए पनि युवाहरूलाई दीर्घकालीन रोजगारको अभाव थियो। तर रोजगारीकै लागि कालापहाड जानेको संख्या नगन्य मात्रामा छ। कर्णालीका ९० प्रतिशत ग्रामीण युवा रोजगारीको खोजीका लागि कालापहाड जान्छन्। तर कर्णालीका मानिसको मुख्य रोजगारी केन्द्र पनि भारत नै हो भने बाँकी योग्यता क्षमताअनुसारको रोजगारी नपाएका कर्णालीका युवा विदेश जाने गर्दछन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024