रोजगारीका लागि युएई जाने ६६ प्रतिशत बढे

22 Jul, 2024

आर्थिक वर्ष २०८०–८१ मा वैदेशिक रोजगारीका लागि कुल सात लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन्। ती मध्ये सबैभन्दा धेरै स्वीकृति संयुक्त अरब इमिरेट्स (युएई)का लागि लिएका छन्।

युएईका लागि एक लाख ९३ हजार ४३८ जनाले स्वीकृति लिएका छन्। यो कुल संख्याको २६ प्रतिशत बढी हो।

आर्थिक वर्ष २०७९–८० सँग तुलना गर्दा २०८०–८१ मा ७७ हजार २७९ जना धेरैले युएईका लागि श्रम स्वीकृति लिएका हुन्। युएई जानेको संख्या ६०.५३ प्रतिशतले बढेको हो।

२०७९–८० मा धेरै श्रमिक मलेसिया गएका थिए। मलेसियाका लागि दुई लाख ५९ हजार ५९४ जनाले श्रम स्वीकृति लिएका थिए। यो कुल संख्याको ३३.६५ प्रतिशत थियो। तर, पछिल्लो समय मलेसियाले आप्रवासी श्रमिक लिन बन्द गरेका कारण युएई जानेको संख्या बढेको म्यानपावर व्यवसायीहरू बताउँछन्।

‘युएईले सीपयुक्त श्रमिक खोज्छ। तर, पछिल्लो समय अधिकांश युवा युएई जाने सोच्नु हुन्छ। तलब पनि त्यति धेरै छैन। किन युवाहरू युएई रोजिराख्नु भएको छ म अचम्म परिरहेको छु,’ म्यानपावर व्यवसायी ऋषि शर्माले भने।

युएईपछि साउदीमा एक लाख ४१ हजार ५०२ जनाले श्रम स्वीकृति लिएका छन्। कतारका लागि एक लाख ३४ हजार ६६९ जनाले श्रम स्वीकृति लिएका छन्। मलेसियाका लागि एक लाख तीन हजार ४४२ जनाले श्रम स्वीकृति लिएका छन्।

कुवेतका लागि ४० हजार ३६८ जनाले श्रम स्वीकृति लिएका छन्।

पछिल्लो समय युरोपियन मुलुकहरूमा पनि नेपालीको आकर्षण बढ्दै गएको देखिन्छ। युरोपमा क्रोएसिया, माल्टालगायत मुलुक धेरैको रोजाइमा रहेको आकडाले देखाउँछ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024