रोजगारीका लागि दैनिक २ हजार नेपाली विदेशिंदै

4 Jul, 2022

१९ असार, काठमाडौं । गत जेठ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या बढेको छ । वैशाखको तुलनामा जेठमा १७ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । दैनिक औसत २ हजार नेपाली रोजगारीका लागि विदेश उडिरहेका छन् ।

वैशाखमा चैतको तुलनामा कामका लागि विदेशिने नेपालीको संख्या साढे १० हजार जनाले घटेको थियो । वैदेशिक रोजगार विभागका अनुसार जेठमा विदेशिने नेपालीको संख्या ६२ हजार ३४९ जना पुगेको छ ।

वैशाख महिनामा विदेशिने नेपालीको संख्या ४५ हजार ४ मात्रै थियो । चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए ।

वैशाखमा दैनिक औसत १ हजार ५ सय जना विदेश गएकोमा जेठमा त्यो संख्या औसत २ हजार नाघेको छ । गत जेठ महिनामा ३४ हजार ८०७ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर विदेश गाएका थिए भने बाँकीले पुरानै श्रम स्वीकृति नवीकरण गरेका थिए ।स्थानीय तह चुनावका कारण पनि वैशाखमा श्रम स्वीकृति नवीकरण गरेर जाने र नयाँ स्वीकृति लिएर जाने दुवै खालका श्रमिकको संख्या घटेको अनुमान थियो । वैशाखमा २३ हजारले मात्रै नयाँ श्रम भिसा प्रााप्त गरेर विदेश जान श्रम स्वीकृति पाएका थिए ।

२०७८ चैत महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार १५६ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने अन्यले श्रम स्वीकृति नवीकरण गरेका थिए । फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका थिए । माघ महिनामा यस्तो संख्या ५४ हजार ४७० जना थियो ।

पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए भने मंसिर महिनामा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या नियमित गतिमा फर्किएको छ ।

अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् । चैत महिनादेखि मलेसियाबाट पनि माग आउन थालेको छ ।

विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । तर, २०७८ को जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । विभागका अनुसार गत साउनमा २५ हजार ४२८ जना, भदौमा ३६ हजार ४० जना, असोजमा ३९ हजार ६७१ जना र कात्तिक महिनामा ५४ हजार ९१८ जना नेपाली कामका लागि विदेश उडेका थिए ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्षको जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो । फेरि विदेश जाने नेपालीको संख्या उकालो लाग्ने देखिएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024