रोजगारीका लागि ताक्लाकोट गएका हुम्ली खाली हात फर्कंदै

23 May, 2023

हुम्ला — चीनले हिल्सा नाक खोलेसँगै रोजगारीका लागि नेपाल, चीन र भारतको त्रिदेशीय विन्दु तिब्बतको ताक्लाकोट पुगेका हुम्लाका स्थानीय काम नपाए पछि खाली हात घर फर्किएका छन् । हुम्लीबासीका लागि रोजगारीको केन्द्र बनेको ताक्लाकोट पुगेपछि काम भन्दा कामदार बढी भएकाले पछिल्लो समय ताक्लाकोटमा बरोजगारी बढेको छ । बेरोजगारहरूको संख्या बढेपछि हुम्लाका स्थानीय काम नपाएपछि खाली हात घर पर्किएको सीमा प्रहरी चौकी हिल्साले जनाएको छ ।

चीन सरकारले साढे ३ वर्ष बन्द भएको हिल्सा नाका खुला गरेसँगै हुम्लाबाट रोजगारीका लागि ताक्लाकोट जाने क्रम बढेकाले अहिले ताक्लाकोटमा काम नपाए नेपाल फर्किने हुम्लीको संख्या बढ्दो छ । नाका खोलेसँगै हुम्लाबाट रोजगारिका लागि १ सय २२ महिला र ३ सय ३२ पुरुष गरि ४ सय ४५ जना हुम्ली ताक्लाकोट पुगेका थिए । हुम्लीको चाप बढेपछि एकातिर काम नपाउने अर्कोतिर प्रतिछाक ८ सय रुपैयाँ नेपाली तिरेर खाना खानु पर्ने भएपछि काम नपाएर घरबाट लगेको सबै पैसा खाएर सकिए पछि बाध्य भएर खाली हात गाउँ फर्किनु परेको सिमकोट–७ डाडाँफयाका स्थानीय धनवीर सुनारले बताए ।

काम गरेर पैसा कमाएर घरपरिवारको लुगाफाटोसँगै घरको गर्जो टार्ने ध्येयले ताक्लाकोट पुगियो तर त्यहाँ पुगेपछि दिनभरि कामको खोजीमा भौतारिँदै बेलुका खाली हात फर्किनु बाहेक केही नहुने भएपछि बरु आफ्नै गाउँघरको सिस्नो खाएर गाउँमै सानोतिनो काम गर्नु बेस हुन्छ भन्दै आफू गाउँ फर्किएको रोजगारीका लागि ताक्लाकोट पुगेका बलजित कार्कीले बताए ।

करिब साढे ३ वर्षको अन्तरालमा नाका खुलेपछि हुम्लाबाट रोजगारीका लागि ताक्लाकोट जान आइतबारसम्म १ हजार १ सय ४७ जनाले सीमा पास बनाएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । सीमा पास बनाएकामध्ये ४ सय ५४ जना जना व्यवसाय सञ्चालन र कामको खोजीमा ताक्लाकोट पुगेका भएपनि काम नपाएर खाली हात नेपाल फर्कन थालेपछि कामका लागि हिल्सा नाकाबाट चीनको ताक्लाकोट जान हिँडेका कतिपय हिल्साबाटै फर्किएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए ।

हिल्सा नाका खोलेसँगै हुम्लाबासीको आर्थिक अवस्थामा केही परिवर्तन हुने हुम्लीको आशा काम नपाउने भएपछि अब आशामै मात्र सीमित भएको छ । काम नपाउने भएपछि आइतबारसम्म रोजगारीका लागि ताक्लाकोट पुगेका ६६ जना हुम्ली खाली हात नेपाल पर्किएको र नेपाल फर्किँदा आफूले लगेको सामान बाहेक अन्य कुनै सामान ल्याउन नदिने भएकाले कामका लागि गएका नेपालीहरु खाली हात फर्कनु पर्ने बाध्यता रहेको सीमा प्रहरी चौकी हिल्साले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024