रोजगारदातालाई स्वदेशी कामदारको अभाव

22 Apr, 2024

इलाम : कोशी प्रदेशका रोजगारदाताले स्वदेशी कामदारको अभावका कारण समस्यामा परेको गुनासो गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा द्रुत बजार मूल्यांकन (आरएमए) परियोजनाअन्तर्गत आयोजित संस्थागत विकासका लागि झापा जिल्लाका उद्योगीहरू तथा उद्योग वाणिज्य संघ र वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिले गुनासो गरेका हुन्।

महासंघका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको प्रयासले हाल उद्योग प्रतिष्ठानमा कामदारसम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने कुरा बताए। अहिले श्रम बजारसम्बन्धी अध्ययन नभएको अवस्थामा रोजगारदाताले दक्ष कामदार पाउन नसकेको बताए ।

नेपाल भेनियर उत्त्पादक संघका अध्यक्ष एवं मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले करिब चार हजार कामदार रहेको भेनियर उद्योगमा ९० प्रतिशत भारतीय कामदार रहेको बताए। उनले भने, ‘कार्यरत १० प्रतिशत नेपाली कामदार पनि वैदेशिक रोजगारको पर्खाइमा छन्।’

झापा उद्योग संघका अध्यक्ष एंव नेपाल उद्योग वाणिज्य महासंघका सदस्य यमबहादुर श्रेष्ठले चिया, चामल उद्योगमा दक्ष प्राविधिको अभाव रहको उल्लेख गरे।

कार्यक्रममा समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले उद्योगको सीपलाई आधार मानेर जनशक्ति उत्पादन गर्नुपर्ने बताए।

जनशक्तिको पनि मागमा आपूर्ति नभएको बताए। सफ्टवेयरमा रोजगारदातालाई जोड्न खोजेको बताउँदै महासंघको पहलमा निर्माण हुने यस प्लेटफर्ममा उद्योग प्रतिष्ठानले पहुँच राख्ने हुँदा अहिले देखिएको जनशक्तिसम्बन्धी माग र आपूर्तिसम्बन्धी समस्याको समाधान हुने बताए । उनले उद्योग प्रतिष्ठानले दक्ष कामदारलाई उत्प्रेरणा जगाउने कार्य गर्नुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले समग्र परिस्थितिको सुधार नभएसम्म उद्योग प्रतिष्ठानहरू प्रगति गर्न नसक्ने, लगानीमैत्री वातावरण निर्मााणका लागि नीतिको आवश्यकता रहेको बताउँदै उद्योगहरूको अवस्था वर्गीकरण सोहीअनुसार समस्याको समाधान गर्नुपर्ने बताए।

हल्दिबारी इँटा उद्योगकी सञ्चालिका ज्योति न्यौपाने रिजालले आफ्नो उद्योगमा अधिकांश भारतीय रहेको बताउँदै नेपाली कामदारको उत्पादकत्व तुलनात्मक रूपमा कम रहेको बताए। हियान फुड इन्डिष्ट्रिजकी सञ्चालिका शर्मिला अधिकारीले दक्ष कामदारका लागि भारतीय कामदारमा भरपर्नु परेको बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024