रोकियो रूस र युक्रेनको श्रम स्वीकृति

5 Jan, 2024

काठमाडौं : वैदेशिक रोजगार विभागले युद्धरत रूस र युक्रेनका लागि बल्ल श्रम स्वीकृतिमा रोक लगाएको छ। संस्थागत वा व्यक्तिगत रूपमा नेपाली नागरिक रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरिएको बिहीबार जारी सूचनामा उल्लेख छ।

रूसी सेनामा भर्ना भएका १० नेपालीले युक्रेनसँगको युद्धमा ज्यान गुमाइसकेका छन्। चार जनालाई युक्रेनले बन्दी बनाएको छ। यस विषयमा अध्ययन तथा छानबिन चलिरहेको विभागले जनाएको छ। रुस र युक्रेनबीच करिब दुई वर्षदेखि युद्ध चलिरहेको छ। तापनि सरकारले ती मुलुक जाने नेपालीका लागि श्रम स्वीकृति रोकेको थिएन।

विभागको तथ्यांकअनुसार आव २०७९/८० मा रूस जान व्यक्तिगत तवरले २ सय ९२ जनाले श्रम स्वीकृति लिएका थिए। पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ छ। जुन जोड्दा ३ सय ८६ हुन आउँछ। यो तथ्यांकले उक्त वर्ष विधिवत् तवरले युक्रेन जानेको संख्या शून्य देखिन्छ। त्यसअघि २०७८÷७९ मा भने व्यक्तिगत तवरले १ सय ५१ जनाले श्रम स्वीकृति लिएको देखिन्छ। उक्त वर्ष एजेन्सीमार्फत ३०, व्यक्तिगत तवरले २०, जीटुजी १, व्यक्तिगत तवरले पुनः ३१ जना रुस गएको तथ्यांकले देखाउँछ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024