रोकियो मलेसियन कम्पनीसँगको सम्झौताको कार्यान्वयन

22 Jan, 2024

७ काठमाडौं । वैदेशिक रोजगार बोर्डले ‘फरेन वर्कर वेल्फेयर म्यानेजमेन्ट सेन्टर’सँग गरेको सम्झौता कार्यान्वयन नगर्ने भएको छ । २१ कात्तिकमा श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शहरसिंह भण्डारीको अध्यक्षतामा बसेको बोर्ड बैठकको निर्णयअनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयले म्यानपावर व्यवसायीलाई आर्थिक भार थप्ने गरी मलेसियन कम्पनीसँग सम्झौता गरेको थियो ।

मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने भन्दै उक्त समझौता भएको थियो । तर, सुरुदेखि नै यो सम्झौताले अन्ततः श्रमिकमाथि नै आर्थिक भार थोपर्ने भन्दै आलोचना भएको थियो । विदेशी कम्पनीलाई करोडौं रकम लाभ हुने गरी भएको सम्झौताप्रति परराष्ट्र मन्त्रालयले समेत अनभिज्ञता प्रकट गरेको थियो ।

आइतबार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे विभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएकोले हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट निर्देशन आएको बताएका छन् ।

‘सोही अनुसार आवश्यक कार्यान्वयनका लागि भनि श्रम, रोजगार तथा २५ पुसको पत्रबाट लेखी आएकोले उल्लेखित सम्झौता हाल कार्यान्वयन नहुने व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024