रोकिएन विदेशिनेको लर्को

21 Nov, 2022

सीता शर्मा

काठमाडौँ, मङ्सिर ३ गते । मतदान गर्न दुई दिन मात्रै बाँकी रहँदा शुक्रबार पर्वत विहुका विनोद अधिकारी रोजगारीका लागि मलेसिया प्रस्थान गर्नुभयो। दुईमहिने घर बिदामा आउनुभएका उहाँ दशैँतिहार मनाएर पुनः श्रम स्वीकृति लिएर चुनावको मुखमै विदेश लाग्नुभएको हो।

उहाँले टेलिफोनमा गुनासो गर्नुभयो, “स्वदेशमा रोजगारीका लागि केही हुने भए विदेश जान कसलाई मन हुन्छ र! त्यो पनि चुनावको मुखमा। फर्किने टिकट आजैको छ, टिकट छुट्यो भने जागिर र टिकट दुवै जान्छ।” उहाँ त एउटा प्रतिनिधि पात्र मात्रै हो। मङ्सिर ४ गते आइतबार प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मतदान हुँदै छ।

वैदेशिक रोजगार विभागका अनुसार अधिकारी जस्ता दैनिक औसतमा दुई हजार तीन सय जना रोजगारीको खोजीमा मुखैमा आएको चुनाव छोडेर विदेश जाने गरेका छन्। आफूले मतदान गर्न नपाए पनि अधिकारीले जनताको आवश्यकता बुझ्ने र विकासमा सहयोग गर्ने खालको उम्मेदवारले विजय प्राप्त गरोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो।

निर्वाचनको मुखमा घरपरिवार छाडेर वैदेशिक रोजगारका लागि खाडी र मलेसिया जान लागेका युवाले मन भारी हुने गरेको बताउँछन्। कतार जान अन्तर्वार्ताका लागि काठमाडौँ आउनुुभएका धादिङका विष्णु गौतमले हातमुख जोर्ने बाध्यताले विदेशिने युवालाई गन्तव्य देशबाटै मतदानको अधिकार हुनुपर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो, “यस्तो व्यवस्था भएमा मात्रै हामीले चाहेको र हाम्रा समस्या सुन्ने नेतृत्व आउँछ, नयाँ आउने नेतृत्वले यो गरोस् भन्ने अपेक्षा छ, यो युवा आए गर्छन् पनि।”

वैदेशिक रोजगार कार्यालय, ताहचल काठमाडौँका अनुसार कात्तिक महिनामा मात्रै संस्थागत, व्यक्तिगत र पुनः गरेर ६९ हजार ११० जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन्। सो कार्यालयका अनुसार संस्थागतबाट नयाँ तीन हजार ३७१ जना महिनासहित ४२ हजार १०७ जनाले श्रम स्वीकृति लिएर गएका छन् भने पुनः श्रम स्वीकृति २१ हजार ७२१ जनाले र नयाँ व्यक्तिगत रूपमा पाँच हजार २८२ जनाले श्रम स्वीकृति लिएका छन्। असोज महिनामा ५६ हजारले श्रम स्वीकृती लिएर गएका थिए। यो तथ्याङ्क हेर्दा दशैँतिहारजस्ता ठूला चाडपर्व र चुनावले विदेश जाने लर्को नरोकिएको स्पष्ट पार्छ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा दुई लाख ६५ हजार १८५ जना रोजगारीका लागि विदेशिएका छन्। चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा ६३ हजार भदौमा ७६ हजार, असोजमा ५६ हजार र कात्तिक ७० हजारले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसियालगायत कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग वृद्धि भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको बताउनुभयो। पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या घटेर मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) जानेको सङ्ख्या भने बढ्दै भइरहेको देखिएको छ।

वैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराईले कोरोना सामान्य भएसँगै पछिल्लो पटक मलेसियामा नेपाली श्रमिकको माग ह्वात्तै बढेको बताउनुभयो। उहाँले स्वदेशमा रोजगारी नपाएका ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि विदेशिने क्रम नरोकिएको बताउनुभयो। मुलुक निर्वाचनमय भएको छ। सबै काम छोडेर नागरिक चुनावमा केन्द्रित भएका छन्। प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको दिन आउन दुई दिन मात्रै बाँकी रहँदा पनि रोजगारीका लागि विदेश जानेको लर्को रोकिएको छैन।

विगत र अहिले पनि राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्रमार्फत स्वदेशमै रोजगारीको सुनिश्चिततासहितका आकर्षक नारा दिएका थिए, दिँदै आएका छन्। ठूला दलहरूले चुनावी सभामार्फत वैदेशिक रोजगारीमा जानैपरे पनि निःशुल्क भिसा र टिकट लिएर विदेश पठाउने आश्वासन दिने गरेका छन्। तर, रोजगारीका लागि विदेशिनेको बाध्यता आफ्नै छ।

पूर्वश्रम सचिवसमेत रहनुुभएका भट्टराईले दलका चुनावी घोषणापत्रमा रोजगारीका ठूला कुरा आए पनि जीवन निर्वाहकै लागि दैनिक विदेशिने युवाको बाध्यतालाई कसैले प्राथमिकतामा राख्न नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “श्रम बेच्न विदेशमा गएका युवाको विषयप्रति साँच्चिकै दल संवेदनशील भएको भए गन्तव्य देशबाट मतदानको व्यवस्था गर्न सक्थे तर त्यो विषयमा हाल ठूला भनिएका दलमा त्यो इच्छा शक्ति देखिँदैन।”

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024