काठमाडौं : आयातित वस्तुमा निर्भर नेपाललाई बढ्दो रेमिट्यान्स (विप्रेषण) को आकारले ठूलो राहत मिलेको छ । कुल आयातको हिस्सा ठूलो भएकाले यसमा खर्च गर्ने ठूलो स्रोत रेमिट्यान्स हो । चालु आर्थिक वर्षको ८ महिना (फागुनसम्म) रेमिट्यान्स ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र पुनः श्रमस्वीकृति लिनेको संख्या अत्याधिक बढ्दा पनि रेमिट्यान्स वृद्धि भएको हो । तथ्यांकअनुसार अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ जना रहेको छ भने पुनः श्रमस्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४ सय ३ जना रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार ७ सय ८३ रहेको थियो ।
यसो हुँदा मुलुकको कुल विदेशी विनिमय सञ्चिति पनि २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ हाराहारीमा पुगेको छ । जबकी गत असारमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर थियो । पछिल्लो ८ महिनाको अन्तरमा १८.० प्रतिशतले वृद्धि २४ खर्बमाथि पुगेको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब ३० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ७८ अर्ब ९५ करोड रुपैयाँ छ । हालसमम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत छ । यसअनुरूप आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा यस्तो सञ्चिति ४२.२ प्रतिशत छ ।
शोधनान्तर ३ खर्बभन्दा बढी बचतमा
देशबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने मुद्रा अधिक हुँदा शोधनान्तर स्थिति पनि लामो समयदेखि बचतमा छ । फागुनसम्ममा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा छ । अझ अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा थियो । अमेरिकी डलरमा २ अर्ब २९ करोडले बचतमा छ ।
यस्तै, चालु खाता पनि १ खर्ब ८० अर्ब ८ करोडले बचतमा छ । अघिल्लो वर्ष १ खर्ब ६७ अर्ब ४५ करोडले बचतमा थियो । अमेरिकी डलरमा १ अर्ब ३३ करोडले बचतमा देखिन्छ ।
प्रत्यक्ष वैदेशिक लगानी साढे ८ अर्ब भित्रियो
चालु आवको ८ महिनामा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड छ । यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो एफडीआई ५ अर्ब ६३ करोड भित्रिएको थियो ।
वैदेशिक अध्ययन, उपचार र भ्रमण खर्च बढ्यो
नेपालबाट विदेश अध्ययन, उपचार र भ्रमण गर्नेबाट भएको खर्च बढ्दा सेवा आय घाटामा छ । यसअवधिमा खुद सेवा आय ७५ अर्ब १३ करोड रुपैयाँले घाटामा छ ।यसमध्ये शिक्षातर्पmको व्यय अधिक छ । अर्थात वैदेशिक अध्ययन गर्न जानेले मात्रै ८८ अर्ब ९८ करोड खर्चेका छन् । गत वर्ष विदेशी अध्ययनमा ८० अर्ब १४ करोड रुपैयाँ थियो ।
आयात साढे ११ खर्ब, निर्यात १ खर्ब ५८ अर्ब मात्रै
मुलुकमा आयातभन्दा निर्यात कम हुँदा व्यापार घाटा चुलिँदै गएको छ । आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा आयात साढे ११ खर्ब हुँदा निर्यात १ खर्ब ५८ अर्ब मात्रै भयो । यसबाट वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भएको छ । अर्थात्, आयातभन्दा निर्यात ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँले कम छ ।
चालु आवको आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८.८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैंचीलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, अदुवा, तयारी पोसाक, जुसलगायतका वस्तुको निर्यात घटेको छ । यता कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १२.५ प्रतिशत र २०.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाईजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रासायनिक मल लगायतका वस्तुको आयात घटेको छ ।
महँगीमा झिनो सुधार
बजारमा उपभोक्ताले महँगी बढेको अनुभूति गरे पनि नेपाल राष्ट्र बैंकको तथ्यांकले वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशतमा सीमित रहेको उल्लेख गरेको छ । जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत थियो । यसबीच खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ ।
सबैभन्दा बढी महँगी खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.७४ प्रतिशत देखिन्छ । यसैगरी क्रमशः दाल तथा गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ ।
निजी क्षेत्रमा कर्जा ६ प्रतिशतले वृद्धि
चालु आवको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ४ अर्ब ८२ करोडले बढेको छ । यो गत वर्षको तुलनामा ६ प्रतिशत बढी भएको केन्द्रीय बैंकले बताएको छ । जबकी गत आवको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ ।
निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत छ ।