रेमिट्यान्समा कहिलेसम्म रमाउने ?

3 Jan, 2024

भर्खरै सरकारले आफ्नो एकवर्षे कार्यकालको समीक्षा गर्दै मुलुकको अर्थतन्त्र सुधारोन्मुख गतिमा अगाडि बढेको दावी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व सम्हालेयता विकास र अर्थतन्त्रमा सुधार भएको बताएका छन्।

अहिले विशेषगरी मुलुकको शोधनान्तर स्थितिमा देखिएको बचत, विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धि, घट्दो मुद्रास्फीति तथा ब्याजदर, घट्दो व्यापार घाटा आदिका कारण अर्थतन्त्रका परिसूचकहरू अनुकूल देखिएका छन्। यसैकारण सरकारले अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गरेको हुन सक्छ।

तथापि, यी सुधारका पछाडि सरकारले अवलम्बन गरेका वर्तमान नीति तथा कार्यक्रमभन्दा पनि मुलुक भित्रने रेमिट्यान्स अर्थात् विप्रेषणको निरन्तर वृद्धि प्रमुख कारक तत्व रहेको अर्थविद्हरूको बुझाइ छ।

मुलुकमा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएसँगै शोधनान्तर स्थिति तथा विदेशी मुद्रा सञ्चिति जस्ता अर्थतन्त्रका बाह्य परिसूचकहरूमा सकारात्मक प्रभाव पर्नु स्वभाविक नै भयो। यसका साथै कतिपय आन्तरिक परिसूचकहरूमा समेत अप्रत्यक्ष प्रभाव परेको देखिन्छ।

बजारमा तरलता सहजता हुनु, घट्दो मुद्रास्फीति तथा ब्याजदरमा समेत यसको भूमिका देखिन्छ। निर्यात तथा आयातमा आएको संकुचनले घटेको व्यापार घाटाको अवस्थालाई कुनै उपलब्धि मान्न मिल्दैन। यता सरकार भने यसैलाई आफ्नो उपलब्धिका रूपमा व्यख्या गरिरहेको छ।

मुलुकमा अहिले औद्योगिक गतिविधिमा सुस्तपन, व्यापार व्यवसायमा गिरावट तथा लगानीमा आएको संकुचनले अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन। व्यवसायीहरू पलायन भएका खबर बाहिर आउन थालेका छन्।

यस्तै सरकारको आम्दानीले मुलुकको साधारण खर्चसमेत धान्न नसक्ने अवस्थाले वित्तीय असन्तुलन देखा परेको छ। यस्तो अवस्थामा अर्थतन्त्रमा देखिएको भनिएको सुधारलाई जुनकीरीको उज्यालोसँग तुलना गर्दा अत्युक्ति नहोला।

नेपालको श्रमबजारमा वार्षिक करिब पाँच लाख युवा कामको खोजीमा बजारमा प्रवेश गर्छन्। आन्तरिक बजारमा पर्याप्त रोजगारीको अवसर नहुँदा दैनिक सरदार दुई हजारभन्दा बढी सक्रिय जनशक्ति कामको खोजीमा विदेशिने गरेका छन्।

स्वदेशमै रोजगारीसँग सम्बन्धित नीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्या दिन/प्रतिदिन बढ्दै गएको छ। मुलुकबाट युवाहरू विदेशिन थालेको धेरै समय भए पनि, सरकारले भने आर्थिक वर्ष २०६५/०६६ देखिमात्र यसको आधिकारिक तथ्यांक राख्न सुरु गरेको हो।

पछिल्लो समय विदेशिने श्रमिकको संख्या बढेसँगै रेमिट्यान्सको आप्रवाहमा समेत वृद्धि हँुदै गएको छन्।

आ.व. २०७१/७२ मा ६ खर्ब १७ अर्ब रूपैयाँ बराबर रेमिट्यान्स भित्रिएकामा गत आ.व.२०७९/८० मा यो रकम दोब्बरभन्दा बढीले वृद्धि भई रु. १२ खर्ब २० अर्ब ५६ करोड पुगेको राष्ट्रबैंकको तथ्यांकमा उल्लेख छ।

चालु आ.व.को पहिलो चार महिनामा रेमिट्यान्समार्फत चार खर्ब ७७ अर्ब ९६ करोड रूपैयाँ मुलुक भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २६.४ प्रतिशतले बढेको थियो।

करिब ५० खर्ब रूपैयाँ बराबरको आर्थिक संरचना र १७ खर्बको राष्ट्रिय बजेट भएको देशमा बर्सेनि १२ खर्बभन्दा बढी रेमिट्यान्स आप्रवाह हुनु सामान्य कुरा होइन। तथापि, भित्रिएको रेमिट्यान्स कहाँ र कसरी उपयोग भैरहेको छ भन्ने विषयले भने प्राथमिकता पाएको देखिँदैन।

रेमिट्यान्सबाट प्राप्त आम्दानीको सदुपयोग गरी मुलुकको आन्तरिक उत्पादन कसरी बढाउन सकिन्छ भन्ने बहस अहिलेसम्म चलेको देखिँदैन।

एकातिर स्वदेशमा रोजगारी सिर्जना गर्न नसकिरहेको अवस्थामा युवाहरू विदेश गएकाले सरकार ठूलो जिम्मेवारीबाट मुक्त भएको महसुस गरेको छ भने अर्कोतर्फ कुनै कडा मेहनतविना महिनैपिच्छे खर्बौँ रूपैयाँ मुलुक भित्रिएकाले सरकारलाई हाइसन्चो भएको छ। तर, सरकारले के हेक्का राख्नुपर्छ भने रेमिट्यान्सलाई स्थायी आम्दानीको स्रोतका रूपमा लिन सकिँदैन।

मुलुकमा अहिलेकै गतिमा रेमिट्यान्स आप्रवाह सँधैभरि भैरहने कुनै प्रत्याभूति गर्न सकिँदैन। किनकि रेमिट्यान्स आम्दानी हाम्रो वसमा हुँदैन। यसको गतिलो उदाहरण सन् २०१९मा देखिएको कोभिड–१९ महामारी र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको प्रतिकूल असरलाई लिन सकिन्छ। उक्त समयमा रेमिट्यान्स आम्दानीमा आएको गिरावटले मुलुकको समग्र आर्थिक अवस्था नाजुक बन्न पुगेको थियो। यो घटनालाई सरकारले भुल्नुहुँदैन।

जिफन्टका अनुसार आ.व.२०७७/०७८ मा एक लाख ६६ हजार ६९८ जना विदेशिएकामा नौ खर्ब ६१ अर्ब पाँच करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो।

आ.व.२०७९/०८० मा विदेशिने श्रमिकको संख्या बढेर सात लाख ७१ हजार ३२७ पुगेकाले त्यसै अनुपातमा रेमिट्यान्स भित्रिएको भए नेपालमा ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स भित्रिनुपर्ने देखिन्छ। तर सरकारसँग केवल १२ खर्ब २० अर्ब रेमिट्यान्स मात्र भित्रिएको तथ्यांक भएकाले करिब ३८ खर्ब रेमिट्यान्स हराएको जिफन्टको दाबी छ।

यसका पछाडि अवैध कारोबार, श्रम गन्तव्यमा आएको परिवर्तन, विदेशमै बसोबास जस्ता विभिन्न कारण भएको अनुमान लगाइए पनि मुलुकका लागि भने यो सुखद् खबर हुन सक्दैन।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024