रूसमा फोन नलागे नेपालमा चल्छ रुवावासी

5 Feb, 2024

१९ माघ, काठमाडौं । जब रूसी सेनामा गएका नेपालीको मृत्यु भएको वा सम्पर्कविहीन भनेर समाचार आउँछ– धनगढी, कैलालीकी चाँदनी विष्टको मन भक्कानिन्छ । हत्तपत्त श्रीमानलाई फोन लगाउँछिन्, तर सम्पर्क हुँदैन ।

‘एक–दुई दिन सम्पर्क हुन नसक्दा घरमा सबैको रुवावासी चल्छ । हरेक रात आँसुले सिरानी भिजेको हुन्छ’ गहभरि आँशु पार्दै चाँदनीले मनको बह पोखिन् ।

घरमा बुढी आमा छिन् । बुढेसकालको सहारा दुवै छोरा साथमा छैनन् । बेला–बेला मेरा मुटुका टुक्रा कता गयौ भन्दै रुन्छिन्, कराउँछिन् । रुँदारुँदै बेहोश पनि हुन्छिन् ।

चाँदनीका अनुसार १९ मंसिरमा श्रीमान् बिराजन विष्ट (४५) र देवर निराजन विष्ट (४२) भारत हुँदै भिजिट भिसामा रूस उडेका थिए । घरपरिवारका सदस्यले नजान आग्रह गरेका पनि थिए ।

तर ऋण तिर्न र छोरा–छोरीको सपना पूरा गर्न बिराजनले विदेश हिंड्नु नै अन्तिम विकल्प ठाने । चाँदनीका अनुसार एजेन्टले सामान्य लडाइँ हो भन्ने विश्वास दिलाएका थिए । त्यही भरोसामा प्रतिव्यक्ति साढे सात लाख रुपैयाँ तिरेर जान तत्पर भए ।

बिराजन सिंगापुर बसेर एक वर्ष अगाडि मात्रै आएका थिए । नेपालमै केही गरेर बस्ने इच्छा पनि नभएको होइन । व्यापार–व्यवसाय गर्न खोजे, तर करिब एक वर्ष भइसक्दा पनि स्रोत जुटाउन सकेनन् । बेरोजगार भइराखेर पनि घरपरिवारको खर्च धान्न गाह्रो भयो ।

बिराजनको छोरा इन्जिनियर अध्ययन गरिरहेका छन् भने छोरी १२ कक्षामा पढ्दैछिन् । ‘नेपालमा कतै केही गर्ने वातावरण नभएपछि छोरा–छोरीको मुख हेरेर विदेश जाने निधो गर्नुभयो’ श्रीमती चाँदनीले भनिन्, ‘त्यहाँ (रुस) यस्तो हुन्छ भन्ने कल्पना समेत गरेका थिएनौं ।’

चाँदनी अहिले दुई सन्तानसँग भक्तपुरमा बस्दै आएकी छिन् । ७० वर्षकी सासूआमा जानकी, देउरानी र उनका दुई सन्तान कञ्चनपुरमा बस्छन् ।

चाँदनीका अनुसार एजेन्टले ६ लाखसम्म कमाइ हुने र पीआर (स्थायी बसोबास अनुमति) पाइने लोभ देखाएका थिए । तर रूसमा पुग्दा नेपालमा भनेको भन्दा अवस्था भिन्न थियो ।

बिराजन र उनका भाइसहितको टोलीलाई दक्षिण पूर्वी युक्रेनको बाखमुत क्षेत्र नजिक खटाइएको छ ।

एक बन्करमा रहेका उनीहरु अन्तिम तालिममा छन् । अहिलेसम्म जसोतसो सम्पर्कमा छन् । तर युद्धको लागि तयारी अवस्थामा रहन पत्र आइसकेकाले केही दिनपछि सम्पर्क हुन नसक्ने श्रीमानले बताएको चाँदनीले सुनाइन् ।

‘उता दाजु–भाइ जीवनमरणका लागि लडिरहेका छन् । यता परिवार पीडामा छौं । बुढीआमाको रुँदा–रुँदा ज्यान जान आँटिसक्यो’ चाँदनी आँसु झार्दै भन्छिन्, ‘लडाइँमा गएका २५/३० जनामध्ये एक–दुई जना पनि फर्किएर आउने सम्भावना हुँदैन रे ! परिवारको दुई खम्बालाई केही भयो भने हामी कसरी जिउन सक्छौं ?’

रूसी सेनामा भर्ना भएका थुप्रै सम्पर्कविहीन बनेका छन् । बिराजनसँगै क्याम्पमा बसिरहेको बेला कतिपय साथी युक्रेनी सेनाको ड्रोन आक्रमणबाट घाइते पनि भएका छन् ।

चाँदनीका अनुसार रूसी सेनामा भर्ती भएका बिराजन र निराजन जतिसक्दो छिटो घर फर्किन चाहन्छन् । ‘अहिले त त्यहाँ भएका सबै घर फर्कन चाहन्छन् तर, फर्कन मुस्किल छ भन्नुहुन्छ,’ चाँदनीले भन्छिन्, ‘सरकारले छिट्टै उद्धार गर्नुपर्‍यो ।’

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रूसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग सहयोग मागेका छन् । सरकारले तत्काल पहल नगरेको खण्डमा राखेर सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

‘उहाँहरुको टोलीमा १७ जना हुनुहुन्थ्यो रे, अहिले चार जना बाँकी छन् । अन्य सबै युद्धग्रस्त क्षेत्रमा सम्पर्कविहीन छन्’ चाँदनीले भनिन्, ‘जानी नजानी रूसी सेनामा भर्ना हुन पुग्नुभयो, सरकारले तत्काल ज्यान बचाओस् ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024