रूसमा कहाँ हराए विमल ?

13 Dec, 2023

धनुषा : घरको ऋणले च्यापेपछि दुबई हुँदै रुसी सेनामा गएका थिए २९ वर्षीय विमल गजमेर। उनी दुई महिनादेखि सम्पर्कविहीन भएपछि यता परिवार चिन्तामा डुबेको छ। नेपाल फर्किएर दुई दिनअघि मात्रै सम्पर्कमा आएका उनका साथीले आफू बसेको ठाउँ एकदमै खतरायुक्त रहेको बताएपछि घरमा उराठिलोपन छाएको छ।

५४ वर्षीय बुवा तिलकबहादुर विश्वकर्मा दुई दिनदेखि बेचैन छन्। अटो चलाएर जीविकोपार्जन गर्दै आइरहेका उनलाई स्टेरिङमा बस्ने हिम्मत जुटिरहेको छैन। आमा सहुमाया विश्वकर्मा ब्याकुल बनेकी छन्। उनको मन भारी भएको छ। सहुमायाका आँखाबाट कति बेला आँसु झर्छ पत्तै पाउँदिनन्।

‘हे भगवान् ! मेरो बाबु सकुशल घर फर्कियोस्’, उनले बिलौना गर्दै भनिन्।

धनुषाको मिथिला नगरपालिका–७ केमलीपुरका विमल दुई वर्षअघि दुबई पुगेका थिए। त्यहाँबाट गत भदौ २० गते रूस गए। उनी गत असोज ११ गते परिवारको अन्तिमपटक कुराकानी भएको थियो। विमलले त्यसदिन आमाबुबासँग भिडियो कलमा भनेका रहेछन्, ‘हाम्रो अब तीन महिना ट्रेनिङ हुन्छ। त्यस अवधिभरि कुराकानी हुन सक्दैन होला। ट्रेनिङमा मोबाइल लग्न दिँदैनन् अरे। कुनै चिन्ता नलिनु है। सबै जना राम्रोसँग बस्नुहोला।’

उनी त्यसयता कुनै सम्पर्क हुन सकेको छैन। न म्यासेन्जरमा अनलाइन देखाउँछ न त उनको नम्बरमा फोन लाग्छ। ‘छोराले तीन महिना कुराकानी हुँदैन भनेको छ भनेर फोन नलाग्दा पनि हामी घरकाले खासै वास्ता गरेका थिएनौं’, बोल्दाबोल्दै भक्कानिएका तिलकले भने, ‘हाम्रो बाबुसँगै गएका उनको साथी ज्यान जोगाएर नेपाल फर्कियो भन्ने खबर आएपछि हाम्रो सातो गयो।’

बंगुर फार्मको ऋणले जोखिम मोले विमलले

१० कक्षा अनुत्तीर्ण भएपछि विमलको पढाइ रोकियो। उनले स्वदेशमै केही गर्नुपर्छ भनेर गाउँमा बुंगुर फार्म खोले। त्यसमा भाग्यले साथ दिएन। एकातिर बुंगुर मर्ने अर्कोतिर भएका बुंगुर समयमा नबिक्ने क्रम चलिरह्यो। त्यसो हुँदा ७ लाख ऋण लाग्यो।

उनले यो व्यवसायबाट ऊँभो लाग्ने नदेखेपछि बिदेसिने मनसाय बनाए। ४ लाख रुपैयाँ ऋण काढेर २०७८ मंसिरतिर दुबई उडे। विमल त्यहाँ होटलमा डेलिभरि ब्वाइको काम गर्थे। कोरोनाको समय परेर होला त्यो होटल खासै चलेन। त्यहाँ पनि सोचेजस्तो कमाइ भएन।

बुवा तिलकका अनुसार त्यहाँ मुस्किलले मासिक २०–२५ हजार रुपैयाँ बच्थ्यो। त्यसले ऋण टर्लाजस्तो विमललाई लागेन। साथीहरूले रुसी सेनामा हिँड्न सुझाव दिए। ‘रूसको सेनामा राम्रो कमाई हुन्छ। त्यसपछि सबै ठीकठाक हुन्छ बुवा भनेको थियो’, छोरोले भनेका कुरा सम्झिँदै तिलकले भने, ‘बाबुले रूस जानुपर्दैन। त्यो देशहरूमा धेरै खतरा छ। बरु घर फर्की भनेर छोरालाई घरका सबैले धेरै सम्झाए। कसैले पनि रूस जान सल्लाह दिएका थिएनन्।’

विमल रूस जाने अडानबाट पछाडि नहटेपछि जेठो छोरा लीलबहादुरले डेढ लाख रुपैयाँ दिएको तिलकको भनाइ छ। लीलबहादुर हाल लेबलानस्थित शान्ति सेनामा छन्। त्यसरी रूस गएका विमलसँग सम्पर्कविच्छेद भएपछि परिवारजनको होसहवास उडेको छ।

‘एकातिर छोरो ठीक ठाउँमा होला भनेर चित्त बुझाउन खोज्छु। अर्कोतिर उनको साथीले भागेर ज्यान जोगाएको भनेको सम्झिँदा आफूलाई सम्हालन सकेको छुइन्’, भावह्विल बनेका तिलकले अन्नपूर्ण पोस्ट्सँग भने। ज्यान जोगाएर फर्किएका रामचन्द्रसँग थप कुरा बुझ्ने प्रयास गरिरहेको उनले सुनाए। ‘भर्खरै छोरीसँग कुरा भयो। रामचन्द्र(विमलका साथी)सँग कुरा गर्ने प्रयास गर्दै छिन् छोरीले,’ आफूलाई सम्हाल्न खोज्दै तिलकले भने। उनका अनुसार परिवारको ऋण १५ लाख नाघेको छ। ‘ऋण त जसोतसो सधाउँला। छोरोलाई कसैले सकुशल घर फर्काइदेओस्,’ सहुमायाले भक्कानिँदै भनिन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024