रुस र युक्रेनमा मारिएकाको शव नेपाल ल्याइदेऊ: मानवअधिकार आयोग

18 Dec, 2023

राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकको उद्दार गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगले दुई देशबीचको युद्धमा परी मृत्यु भएका नेपालीहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न गैरकानूनी बाटोबाट प्रयोग गरी रूसी र युक्रेनी सेनामा भर्ती भएका र युद्धमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएका र अझै पनि सयौँको संख्यामा रूस र युक्रेन दुवै तर्फको सेनामा कार्यरत रहेको भनी जानकारी आएको स्पष्ट पारेको छ।

आयोगले त्यहाँ जुनसुकै अवस्थामा रहेका आफ्ना नेपाली नागरिकको मानवअधिकारको संरक्षण र उद्दार गर्नु सरकारको कर्तव्य भएको स्पष्ट पारेको छ।

‘युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन,’ आयोगले भनेको छ, ‘घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन साथै भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जीउधनको सुरक्षा गर्न’ सरकारसँग आग्रह गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024