रुस-युक्रेन युद्धमा मारिए रोल्पाका बुढाथोकी

11 Mar, 2025

काशीराम डाँगी

रोल्पा — अवैध रूपमा रुस पुगेर सेनामा कार्यरत रोल्पाका एक अर्का युवाले ज्यान गुमाएका छन् । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमा कसला गाउँका ४४ वर्षीय तिर्खबहादुर बुढाथोकीको फागुन २४ गते युक्रेनी सेनाको ड्रोन आक्रमणमा परेर ज्यान गएको हो ।

२०८० असोजमा भारत हुँदै अवैध रूपमा उनी रुसी सेनामा भर्ना हुन रुसमा पुगेका थिए। करिब डेढ वर्षदेखि रुसी सेनामा कार्यरत उनी धेरै लडाइ र आक्रमणमा सहभागी हुँदै आएका थिए । पछिल्लोपटक भने उनीलगायत रुसी सेनामा कार्यरत ४ जनाको टोलीमाथि युक्रेनी सेनाले ड्रोन आक्रमण गरेको थियो । उक्त टोलीमा १ जना नेपालीसहित ३ रुसी सेना भएकामा तिर्खसहित दुई जनाको घटनास्थलमै ज्यान गयो भने अन्य दुई जना घाइते भएका थिए।

तिर्खका ७० वर्षीय बुबा ओमबहादुर बुढाथोकीले फागुन १३ गतेदेखि छोरा सम्पर्कविहीन भएको बताए । ‘ऊ फागुन १३ गतेदेखि सम्पर्कमा थिएन । एक्कासि २४ गते युक्रेनी सेनाको ड्रोन आक्रमणमा परेको खबर आयो । उसले अर्काको मुलुकमा ज्यान गुमाएछ,’ कान्छो छोरा गुमाएका उनी भक्कानिँदै भन्छन् । रुसी सेनाको आक्रमण योजनाअनुसार यसअघि धेरैपटक तिर्ख सम्पर्कविहीन भएर लडाइँमा जाने र पुनः सम्पर्कमा आउने गरेको बुबाको स्मरण छ । तर फागुन २४ मा तिर्खले ज्यान गुमाए पछि भने उनको परिवार शोकाकुल बनेको छ। तिर्ख आक्रमणमा परेर मारिएको खबर उनीसँगको टोलीमा रहेका पूर्वी नेपालका अर्का एक नेपालीले पत्ता लगाएर जानकारी दिएका थिए ।

मृत्युको खबर सुनेपछि उनको घरमा काजकिरिया गर्ने तयारी भइरहेको छ । ‘ऊ मारिएको खबर सुन्यौँ, त्यति टाढाको मुलुक, त्यो पनि ड्रोन आक्रमणमा परेको शव आउने नआउने अन्योलमा तिर्खको स्मरणमा काजकिरिया गर्न थालेका छौ,’ बुबा ओमबहादुरले भने। खबर सुनेको दिनलाई नै परिवारले तिर्खको मृत्युको दिन ठानेका छन् ।

करिब अढाई वर्ष नेपाली सेनामा कार्यरत रहेका उनी २०७४ मा आफ्नै वडाको निर्वाचनमा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। तिर्खका बुबाआमा, श्रीमतीसहित दुई सन्तान छन्।

तिर्खको मृत्यु भएको खबर पाएपछि परिवारलाई सान्त्वना दिन स्थानीय जनप्रतिनिधि उनको घरमा पुगेका छन् ।

यस अघि रुसी सेनामा कार्यरत अन्य दुई रोल्पालीले ज्यान गुमाइसकेका छन्। अघिल्लो वर्ष गैरीगाउँका एक युवाले र नुवागाउँ निवासी अर्का युवाले रुसमै युक्रेनी सेनाको आक्रमणमा परेर ज्यान गुमाएका थिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024