रुस-युक्रेन युद्धमा मारिएका नेपालीबारे संसदीय समितिको चासो

22 Jan, 2024

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले रुस-युक्रेन युद्धमा नेपालीले ज्यान गुमाएको विषयमा छलफल गर्ने तयारी गरेको छ।

दुई देशको युद्धमा संलग्न नभएको देशका नागरिकले ज्यान गुमाउनुपरेको विषय गम्भीर भएको भन्दै समितिले यसबारे चासो देखाएको छ। समिति सभापति रामहरि खतिवडाले सरकारका सम्बन्धित निकायलाई समितिमा बोलाएर यसबारे छलफल गर्ने तयारी भएको बताए। यसका लागि समय मिलाउन खोजिएको उनको भनाइ छ।

रुस र युक्रेनको युद्धमा भर्ती हुन नेपाली कसरी पुगे? त्यसमा कोको जिम्मेवार छन्? मृतकको शव ल्याउन सकिन्छ या सकिँदैन? र मृतकका परिवारलाई राहत र क्षतिको व्यवस्था के भएको छ? भर्ती भएका जीवितलाई फिर्ता बोलाउन कस्तो पहल भएको छ? भर्ती हुन जान रोक्ने उपाय के के छन्? जस्ता विषयमा सरकारसँग समितिले छलफल गर्ने तयारी गरेको छ।

एक वर्षअघि सुरु भएको रुस-युक्रेनबीच युद्धमा परी पछिल्लो समय ११ जना नेपालीले ज्यान गुमाएका छन्। रुसी सेनामा भर्ती भई मृत्यु हुने नेपालीको संख्या अझै बढ्न सक्ने देखिएको छ। युद्धमा मृत्यु भएका ११ जना नेपालीको शव भने भेटिएको छैन।

मृत्यु हुनेमा सन्दीप थपलिया (गोरखा), रूपक कार्की (बाणगंगा– १ कपिलवस्तु), देवान राई (कास्की), प्रितम कार्की (पुतलीबजार- ५, स्याङ्जा), राजकुमार रोका (मेलुङ- ६ दोलखा), गंगाराज मोक्तान (इलाम- ५, इलाम), कैलालीको टीकापुर नगरपालिका– १ नयाँ टीकापुरका ३६ वर्षीय भरत शाह, राजकुमार गिरी (धादिङ), हरि अर्याल (स्याङ्जा), भरतबहादुर शाह (कैलाली) र कुन्दनसिंह नगल (ठेगाना नखुलेको) छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024