रुस-युक्रेन द्वन्द्व प्रभावित: तीन सय दुई जना नेपालीहरु सुरक्षित गन्तव्यमा

3 Mar, 2022

चिरन शर्मा

रुस-युक्रेन द्वन्द्व प्रभावित तीन सय दुई जना नेपालीहरु सुरक्षित गन्तव्यमा पुगेका छन्। रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई (हिजो) मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए।

समितिका अनुसार मंगलबारसम्म  २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन्। यसअघि समितिको अध्यक्ष समेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण पुले विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो।

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रसियामा रहेका नेपालीहरुले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरुसंग सम्पर्क रहेको जानकारी दिए। उनले एनआरएनएका राष्ट्रिय समितिहरु उद्धार कार्यमा सकृय रुपमा लागि परेको जानकारी दिदै एनआरएनए पोल्याण्डको सकृयतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जनाए। 

रुसका लागि कार्यवाहक राजदूत सुशिल घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीहरुले युक्रेन जोडेको जानकारी दिए। उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थीहरु चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए। उनले पश्चिमी मुलुकहरुले रुससंगको हवाई उडानमा प्रतिवन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरुमा समेत संसय थपिएको बताए।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले  गैरआवासीय नेपाली संघले अप्ठ्यारोमा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए। सुवेदीले युक्रेनमा रहेका नेपालीहरुको संख्या सोचे भन्दा अझ बढी हुन सक्ने बताए। समितिका सदस्य सचिव चिरनजीबी खड्काले बैठकमा नेपालहरुको उद्धारको लागि सिमा क्षेत्रमा खटिएको अनुभव सुनाएका थिए।

उनले अत्याधिक चिसोका कारणले युद्ध पिडित नेपालीहरु थप समस्या रहेको जानकारी दिए। एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोवस्तको व्यवस्था मिलाइएको जनाकारी दिए। उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीहरुले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए।

उनले युद्ध पिडित नेपालीहरुलाई आर्थिक अभाव रहेको बताए। उनले आफ्नै रेष्टुरेन्ट खाली गरेर १६ जना नेपालीहरु बस्न र खानाको व्यवस्था गरेको जानकारी दिए। रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले नवराज पोखरेलले रोमानियमा आएका २३ जना नेपाली सुरक्षित गन्तव्य तिर लागेको जानकारी दिए। उनले केही  नेपालीहरु अनजानमा हंगेरीको सिमामा पुग्दा अलपत्र परेको समेत बताए।

बैठकमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, एनआरएनए जर्मनीका अध्यक्ष मिलन पन्त, सुरेन्द्र श्रेष्ठ (हङग्रेरी), सन्तोष भट्राई (जर्मनी) सोनाम शेर्पा (स्लोभाकिया), संजय कार्की (हङगेरी), निलम आचार्य (जर्मनी), प्रभाकर खड्का (पोल्याण्ड)  लगायतले आफ्नो भनाइहरु राखेका थिए।

बैठकमा युक्रेनको युद्धबाट ४ दिन हिडेर बाचेका दाङका बिक्रम खड्काले आफ्नो युद्धमा परेको बेलाको अनुभव सुनाए। उनले   युक्रेन देखी हङगेरी पुग्दा बाटोमा बम पड्केको र ठूल्ठूलो आवाज सुनेको अनुभव सुनाए।

यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पिडितको उद्धारको लागि सोमबारदेखि पोल्याण्डको सिमा क्षेत्रमा आफै खटिएका छन् भने नेपाली राजदुत रामकाजी खड्काले बुधबारदेखी सिमा क्षेत्रमा आफै खटिएर नेपालीहरुको उद्धार गर्ने तयारीमा लागेमा लागेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024