रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

29 Apr, 2024

रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्। स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावकलगायतका परिवार चिन्तामा परेका हुन्।

धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएको छोरा विगत चार महिनादेखि सम्पर्कविहीन भएपछि दिनरातै रोएर बित्ने गरेको व्यास नगरपालिका–९ मा रहेकी आमाले बताइन्। ‘रुसी सेनामा भर्ती भएको छोराले सुरुमा चिन्ता नगर्न भनेको थियो,’ नाम गोप्य राखिदिन आग्रह गर्दै आमाले भनिन्, ‘छोरा सम्पर्कविहीन भएपछि शोकले सुत्न पनि सकिएकी छैन।’

रुसी सेनामा भर्ती भएका आफ्ना सन्तानलाई सुरक्षित रूपमा स्वदेश ल्याइदिन पहल गर्न परिवारजनले जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन (सामी)कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन परेको केन्द्रका परामर्शदाता गोमा तिवारीले जानकारी दिइन्।

रुसी सेनामा व्यासका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका तीन, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी नौ युवा सम्पर्कविहीन भएकाले खोजी गरी सकुशल स्वदेश फिर्ता गरिदिन माग गर्दै निवेदन परेको उनले बताइन्।

सम्पर्कविहीनहरूको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको आवश्यक सम्पूर्ण कागजात पठाइसकिएको केन्द्रले जनाएको छ। बिचौलियामार्फत पाँच लाखदेखि ६ लाख रुपैयाँसम्म तिरेर ‘भिजिट भिसा’मार्फत रुसी सेनामा भर्ती गराइएकोसमेत परामर्शदाता तिवारीको भनाइ छ।

केन्द्रका जिल्ला संयोजक लुना रानाले तनहुँबाट अन्य व्यक्तिसमेत रुसी सेनामा भर्ती भएको हुन सक्ने आकलन गरिएको बताइन्। नेपाल सरकारले रुसी सेनामा भर्ना हुन प्रतिबन्ध लगाएकाले निवेदन दिनेको संख्या न्यून रहेकोसमेत उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन राहदानी बनाउन आएका सबैलाई अनिवार्य रूपमा परामर्श लिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताइन्। वैदेशिक रोजगारीका क्रममा कसैले पनि ठग्न नसकून् भनेर आफूहरूले अनिवार्य रूपमा परामर्श सेवा सञ्चालन गरेको उनले जानकारी दिइन्।

‘रुसी सेनामा भर्ती भएकाको खोजी गरिदिन निवेदन परेको छ,’ प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, ‘हामीले आफ्नो स्थानबाट सकुशल फिर्ता गर्न आवश्यक पहल गरेका छौँ, तर राज्यले बन्देज लगाएको र जानकारी नभएका देशहरूमा कसैलाई पनि नजान अनुरोध गरेका छौँ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024