रुसले माग्यो सेनामा कार्यरत १५ नेपालीका परिवारको डिएनए, पठाइयो ८ जनाको

21 Mar, 2024

रुस सरकारले सेनामा कार्यरत १५ जना नेपालीको जेनेटिक टेष्टका लागि डिएनए नमूना पठाइदिन नेपाल सरकारसँग आग्रह गरेको छ।

रुसले मस्कोस्थित नेपाली दूतावासलाई गत फागुन २३ गते पत्र लेखेर डिएनए नमूना पठाइदिन भनेको हो। डिएनए नमूना माग गरिएका १५ जना रुसी सेनाको अवस्था भने सार्वजनिक भइसकेको छैन।

कन्सुरल विभागका महानिर्देशक प्रकाशमणि पौडेलकाअनुसार डिएनए टेष्टका लागि भनेर पत्र आएको छ। दूतावासले ती १५ व्यक्तिका परिवारहरूको डिएनए उपलब्ध गराउन आग्रह गरेको हो।

अहिलेसम्म ८ जनाको परिवारले कन्सुलर विभागमा डिएनए नमूना उपलब्ध गराएको र त्यो पठाइसकिएको विभागले जनाएको छ।

नवलपरासीका भीमबहादुर विश्वकर्मा, प्यूठानका सुमेश सुनार, ओखलढुंगाका खेमकुमार भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र मकवानपुरका विजयबहादुर थोकरका परिवारले डिएनए उपलब्ध गराएका छन्।

यस्तै क्षितिज बस्नेत र जितेन्द्र घिसिङको परिवारबाट पनि डिएनए उपलब्ध भएको तर उनीहरूको ठेगाना भने नखुलेको विभागले जनाएको छ।

रुस सरकारले पठाएको पत्रमा भीम विक (नवलपरासी), क्षितिज बस्नेत, जितबहादुर मगर (दाङ), टीकाबहादुर राना मगर (तेह्रथुम), चन्द्रप्रकाश बिसी (बाँके), अभिषेक बुढा मगर, घनश्याम शाही (मोरङ), सुमेस सुनार (प्यूठान), प्रेमबहादुर कठायत (अछाम), खेमकुमार भुजेल (ओखलढुंगा), विमलकुमार गजमेर (धनुषा), प्रेम प्रकाश न्यौपाने (नवलपरासी), विकाश राई (मोरङ), विजयबहादुर थोकर (मकवानपुर) र जितेन्द्र घिसिङ छन्।

सरकारले रुसी सेनामा कार्यरत १७ जना नेपालीको मृत्यु भएको पुष्टि गरिसकेको छ। अहिले डिएनए परीक्षणका लागि आएका व्यक्तिहरूको अवस्था भने डिएनए म्याच गरिसकेपछिमात्रै थाहा हुने विभागका महानिर्देशक पौडेलले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024