१० भदौ,बुटवल । साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका धनुषाका रामआशषि यादवले सोमबार रुपन्देही पुगेर आफूलाई मृत्युदण्डबाट जोगाउन पहल गर्नेहरुसँग भेट गरेका छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्माको हत्या गरेको अभियोगमा यादव ६ वर्ष साउदीको जेलमा परेका थिए । अदालतले फाँसीको सजाय सुनाइसकेको अवस्थामा पीडित परिवारलाई ४६ लाख रुपैयाँ ब्लडमनि बुझाएर उनी हालै नेपाल फर्किएका थिए ।
नेपाल फर्केपछि उनी ब्लडमनि स्वीकार गर्ने दुर्गाप्रसाद शर्माको परिवार, ब्लड मनि जुटाउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र उद्योगी व्यवसायीहरुसँग भेट्न रुपन्देही पुगेका थिए । तर शर्मा परिवारसँग भने भेट गर्न सकेनन् ।
मृत्युदण्डको सजाय सुनाएको ६ दिन पहिला मृतकको परिवारले ४६ लाख रुपैयाँ बुझेपछि रामआशिषले जीवनदान पाए ।
‘साउदी अरबको पात्रो अनुसार दोस्रो महिनाको ११ तारिखमा मैले फाँसी पाउनेवाला थिएँ’, सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उनले भने, ‘रुपन्देहीका सीडीओ साबले ४६ लाख जुटाउन सहयोग गरेर दुर्गा दाइ (साउदीमा हत्या भएका) को मेडमलाई दिएर मिलापत्र गरेको कागज पठाएपछि म नयाँ जुनी पाएर फर्केको हुँ ।’
रामआशिषले आफू साउदीबाट नेपाल आउनेबित्तिकै शर्माको परिवारसँग माफी माग्न, गल्तीको प्रायश्चित गर्न र आफूलाई बचाउन सहयोग गर्ने पीडित परिवार, आर्थिक सहयोग जुटाउन सहयोग गर्ने प्रजिअ अर्याल र रुपन्देहीका व्यापारीहरुलाई धन्यवाद दिए ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता व्यवसायीहरु पनि भेला भएका थिए । श्रीमती र छोरीहरुसहित आएका रामआशिषले भावविभोर हुँदै सबैलाई धन्यवाद दिए ।
ब्लडमनि जुटाएर आफ्नो ज्यान बचाउन प्रजिअ अर्यालको प्रमुख भूमिका रहेको भन्दै उनले भने, ‘एक जना सीडीओले मधेशको गरीब यादवको छोराको जीवन बचाइदियो, मैले उहाँलाई भगवान नै मानेको छु, म फाँसीमा गएको भए मेरी श्रीमती र तीन छोरीको बिचल्ली हुने थियो ।’
जनै चुुँडिएको निहुँमा विवाद
तीन छोरी, आमा–बुबासहित ६ जनाको परिवारको जीविका चलाउन गाह्रो भएपछि रामअशिष सन् २०१२ मा साउदी अरब पुगेका थिए । रामअशिष र रुपन्देहीका दुर्गाप्रसाद शर्मा साउदीमा पुल, सडक आदि बनाउने कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे । दुर्गा इलेक्ट्रिसियन थिए, रामआशिष शुरुमा लेबर काम गर्थे । पछि मेकानिक भए ।
दुर्गा र रामआशिष ७–८ महिनासम्म त एउटै कोठामा बसे । पछि बस्ने कोठा अलग भएपनि खाना खाने भान्सा एउटै थियो । राम आशिषका अनुसार उनीहरुबीच पैसा सापटी लेनदेन पनि हुन्थ्यो ।
६ अक्टोबर सन् २०१८ मा क्यारमाबोर्ड खेल्दा उनीहरुबीच विवाद भएको थियो । क्यारमबोर्डको खसेको गोटी टिप्ने क्रममा दुर्गा लडेको, आफूले तानेर उठाउन खोज्दा जनै चुँडेको र त्यही निहुँमा झगडा परेको रामआशिषले बताए ।
उनीहरुबीच लडाई भयो । झगडा गरिरहेको ठाउँमा निर्माण कम्पनीको छड र जस्तापाताका बण्डलहरु थिए । दुर्गा तिनै छड र जस्ता पातामाथि घोप्टो परेर बजारिएर गम्भीर घाइते भए ।
‘सोही राति दुर्गा दाइको मृत्यु भएको रहेछ, मैले अर्को दिन बिहान मात्र थाहा पाएँ’, रामआशिषले भने, ‘हामी दाजुभाइजस्तै मिलेर बसेका थियौं, कुनै रिसइबी पनि थिएन, रक्सीले नै घटना भयो, दाइको ज्यानै गयो, म पनि ६ वर्ष जेल गएँ ।’
हत्या अभियोगमा साउदीको ताबुक क्रिमिनल कोर्टले सन् २०२० को २० डिसेम्बरमा राम आशिषलाई ५ वर्ष कैद सजायको फैसला गर्यो । ५ वर्षपछि दुवै परिवारबीच ब्लडमनिमा सम्झौता नभए मृत्युदण्ड हुने अदालतको फैसला थियो ।
विपन्न आर्थिक अवस्थाका रामआशिषकी श्रीमती रेनुकुमारीलाई तीन छोरी हुर्काउनै कठिन थियो । उनले ब्लडमनिका लागि पहल गर्न पनि सकिनन् ।
रुपन्देहीमै सहयोग संकलन अभियान
काठमाडौंस्थित कन्सुलर विभागले १२ चैतमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई ‘ब्लडमनि’वापत सम्झौताका लागि पत्र पठायो । कन्सुलर विभागले पीडक र पीडितबीच ब्लडमनि सम्झौता भए/नभएको लेखेर पठाउन प्रशासनलाई भनेको थियो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले रामआशिषलाई बचाउन सकिन्छ कि भनेर चासो लिए । रामआशिषकी पत्नी रेनुका मामा प्रभु यादव रामआशिषलाई माफीको आशासहित रुपन्देही पुगेका थिए ।
प्रजिअ अर्याल प्रभुलाई लिएर मृतक दुर्गा प्रसाद शर्माकी श्रीमती सीता शर्माको घर पुगेर मिलापत्रको प्रस्ताव राखे । ‘सुरुमा उहाँले मान्नुभएको थिएन’, प्रजिअ अर्यालले भने, ‘हामीले उहाँलाई धेरै प्रकारले आग्रह गर्यौं र मनाउन सफल भयौं ।’
पटक–पटक अनुरोध गर्दा पनि तीन महिनासम्म कुरा मिल्न सकेन । कञ्चन गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, प्रजिअ अर्याल लगायतको लगातारको प्रयासपछि शर्माको परिवारले ५० लाख रुपैयाँ ब्लडमनि माग्यो ।
‘मृतक परिवारको पक्षबाट एकथरिले ब्लडमनीमा सहमति हुन सक्दैन, त्यसैले छिटो निर्णय लेखेर पठाइदिन दबाब दिइरहेका थिए’, प्रजिअ अर्यालले भने, ‘कसैको ज्यान लिने गरी चिठी लेखेर हस्ताक्षर गर्न सक्दिनँ भनेर अडान लिएपछि उहाँहरु जानुभयो । तीन महिनापछि आएर बल्ल ५० लाख दिने भए सहमति गर्छौं भन्नुभयो ।’
५० लाख रकम जुटाउन धनुषामा रहेको यादव परिवारको लागि कठिन थियो । प्रजिअ अर्यालले धनुषाका प्रजिअलाई सम्पर्क गरेर रामआशिषका लागि ब्लडमनी जुटाउन जिल्लामै पहल गर्दा सम्भव होला भनेर आग्रह गरे, तर त्यहाँबाट पहल भएन ।
त्यसपछि प्रजिअ अर्यालले रुपन्देहीमै सहयोग जुटाउन पहल गरे । उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलगायतसँग उनले कुरा गरे र एउटा कोष बनाउने सल्लाह भयो ।
प्रजिअ अर्यालले ५० हजार, दुई जना सहायक प्रजिअ र रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५–२५ हजार रुपैयाँका दरले कोषमा जम्मा गरे । जिल्लाका ३० जना उद्योगी व्यवसायीबाट समेत ३६ लाख २५ हजार रुपैयाँ जम्मा भयो ।
रामआशिष यादवकी श्रीमती रेनुकुमारीले १५ धुर खेत, अढाइ धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख रुपैयाँ जुटाइन् ।
कुल ४६ लाख २५ हजार रुपैयाँ मृतक दुर्गा प्रसाद शर्माकी श्रीमती सीतालाई दिएपछि मिलापत्र भएको प्रजिअ अर्यालले बताए । ‘३ लाख ७५ हजार रुपैयाँ जुटाउन सकिएन । तै पनि मृतकका परिवार माफी दिन सहमत भयो’, प्रजिअ अर्यालले भने ।