रसियामा सेना बनेर गएका नेपालीले त्यहाँबाट निकालिदिन भारत सरकारसँग गरे अनुरोध

11 Mar, 2024

रूसी सेनामा भर्ती भएका नेपाली युवाले त्यहाँबाट निकालिदिन भारत सरकारसँग अनुरोध गरेका छन्।

सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश सार्वजनिक गर्दै पाँच नेपाली युवाहरूले आफूलाई त्यहाँबाट निकालिदिन भारत सरकारसँग आग्रह गरेका हुन्।

उनीहरूले आफूहरूलाई स्वदेश फिर्ता गर्न सरकारबाट कुनै सहयोग नभएको र नेपाली राजदूतावासले पनि चासो नदिएको बताएका छन्।

आफूसँगै रहेका तीन भारतीय नागरिकहरूलाई भारत सरकारले फिर्ता लगेपछि आफूहरुलाई पनि त्यहाँबाट निकालिदिन नेपाली युवाहरूले भारत सरकारसँग आग्रह गरेका हुन्।

‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन। यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं,’ उनीहरूले हिन्दी भाषामा भनेका छन्, ‘‘नेपाल र भारतबीच राम्रो सम्बन्ध छ। भारत र भारतीय दूतावास शक्तिशाली छ। यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं।’

उनीहरूले आफूलाई एजेन्टले झुक्काएर रूसी सेनामा भर्ती भएको बताएका छन्।

‘हामी नेपालबाट आएका थियौं। एजेन्टले हामीसँग झुट बोलेर यहाँ ल्यायो। रसियन सेनामा जाने र त्यहाँ सहयोगीको रूपमा काम गर्नुपर्ने भनिएको थियो। तर, यहाँ आएपछि हामीलाई युद्धमा जान परिरहेको छ,’ भिडिओमा उनीहरूले भनेका छन्।

उनीहरूले आफूहरूसँगै ३० जना नेपाली त्यहाँ पुगेको तर अहिले पाँच जना मात्रै बाँकी भएको बताएका छन्।

‘कसैलाई कता पठाए, कोही गम्भीर घाइते भएका छन्। अहिले हामी पाँच जना मात्र छौं। हामी फर्कन चाहन्छौं तर सरकार र एम्बेसीले चासो देखाएको छैन,’ उनीहरूले भनेका छन्।

उनीहरूले भिडिओमा भनेका कुरा-

अहिले हामी रसियन सेनामा छौं। हामी नेपालबाट आएका थियौं। एजेन्टले हामीसँग झुट बोलेर यहाँ ल्यायो। रसियन सेनामा जाने र त्यहाँ सहयोगीको रूपमा काम गर्नुपर्ने भनिएको थियो। तर, यहाँ आएपछि हामीलाई युद्धमा जान परिरहेको छ। यहाँ आएपछि हामीलाई धेरै समस्या भएको छ। यसकारण यहाँबाट हामी यहाँबाट निस्कन चाहन्छौं। हाम्रो साथमा तीन जना भारतका साथीहरू थिए। उनीहरूलाई भारतको सरकारले फिर्ता गर्‍यो तर नेपाली राजदूतावासले हामीलाई कुनैपनि सहयोग गरिरहेको छैन। नेपालबाट कुनैपनि प्रक्रिया अगाडि बढिरहेको छैन।

त्यसकारण हामी हाम्रो छिमेकी मुलुक भारतसँग मद्दत माग्न चाहन्छौं। हामीलाई भारतले हाम्रो उद्दार गर्छ भन्नेमा आशावादी छौं। हामीलाई निराश पार्ने छैन। नेपाल र भारतबीच राम्रो सम्बन्ध छ। यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं। किनकी तपाईंहरूको राजदूतावास पनि शक्तिशाली छ भन्ने हामीलाई लाग्छ।

हाम्रो नेपालबाट केही पनि भइरहेको छैन। यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं। किनकी हामीसँग धोकाधडी भयो। सहयोगी भनेर युद्धमा पठाइरहेको छ। ३० जना थियौं अब पाँच जना मात्र बाँकी छौं। कसलाई कता पठाए कोही गम्भीर घाइते भएका छन्। अहिले हामी पाँच जना मात्र छौं।

हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं । सम्भव हुन्छ भने हामीलाई यहाँबाट निकाल्नुहोला। हामी भारतसँग मद्दत माग्न चाहन्छौं। नमस्ते।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024