यौन शोषणमा लगाउन खोजेपछि कुवेतबाट भागेर नेपाल

6 Nov, 2023

बागलुङ — कम्पनीमा क्लिनर भन्दै कुवेत पठाइएकी युवती घरमा यौन शोषणमा लगाउन खोजेपछि भागेर नेपाल फर्केकी छिन् । बागलुङको काठेखोला गाउँपालिका–८ की २३ वर्षीया कौशिला विक कुवेत पुगेको २८ दिनमा नेपाल फर्केकी हुन् ।

गत असोज १० गते आफ्नै भिनाजु नाताका पुरन विकले ती युवतीलाई कुवेत पठाएका थिए । यौन शोषण गर्न खोजेपछि भागेर ज्यान बचाएकी उनले आप्रवासी स्रोत केन्द्र बागलुङको सहयोगमा घर फर्कन सकेकी हुन् । केन्द्रको पहलमा उनी कात्तिक ७ गते नेपाल फर्किएकी हुन् । हाल उनी बागलुङ आइपुगेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दासम्म भिसा नदेखाइकन ती युवतीलाई पुरनको सम्पर्कमा आएका बुटवलका सहदेव बराईले कुवेत पठाइदिएका थिए । जहाज चढेपछि घरेलु कामदार रहेछ भन्ने थाहा पाएकी उनले कुवेतमा २६ दिन बस्दा ३ वटा घरमा फेरेर काम गर्न बाध्य भइन् । ‘पहिलो दिनमा पुगेको घरमा सरसफाइ गर्न लगाइयो,’ उनले भनिन्, ‘दस दिनमै दोस्रो घर पठाएर यौन सम्पर्क गर्न भनियो, मैले नमानेपछि भाग्नुपर्‍यो ।’ पटक–पटक पैसा दिने प्रलोभनमा उक्त घरका मालिकले यौन सम्पर्क गर्न दबाब दिएको उनले बताइन् ।

आफूलाई दबाब दिएपछि उनले तत्काल आप्रवासी स्रोत केन्द्रमा जानकारी गराइन् । घरपरिवारमा सम्पर्क गरेर कागजात पठाउने काममा गाउँकार्यपालिका सदस्य पूर्णमाया सुनार र केन्द्रकी परामर्शदाता गंगा शर्मा रिजालले साथ दिएको उनले बताइन् । ‘समयमा नेपालमा सम्पर्क गर्न पाएर उम्केर आउन सकेकी हुँ,’ उनले भनिन्, ‘मोबाइलसमेत खोसेर राखेकोले अपरिचित महिलाको सामाजिक सञ्जालबाट केन्द्रको सम्पर्कमा आउन सकेको हुँ ।’ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले वैदेशिक रोजगार बोर्डसहितका निकायमा समन्वयमा साथ दिएपछि उनलाई तत्काल फिर्ता ल्याउन सकेको शर्माले बताइन् ।

विवाहपछि पतिले छाडे, ६ बर्षको छोरा पाल्नुपर्ने बाध्यताले उनी विदेश गएकी थिइन् । कम्पनी भनेर यौन धन्दामा पठाउने एजेन्टलाई कारवाही गर्नुपर्ने उनले माग गरिन् । ‘कुवेतमा रहेका अरु पीडितलाई पनि उद्धार गर्नुपर्छ भन्ने सन्देश पुर्‍याउन भागेर आएँ,’ उनले भनिन् ।

कक्षा ९ मात्रै पढेकी विक भलिबल खेलाडीसमेत हुन् । उनी गत असारमा जिल्लाबाट उत्कृष्ट भएर गण्डकी प्रदेशको टिममा छनोट भएकी थिइन् । घर मालिकले मुख थुनेर जबर्जस्ती गर्न खोज्दा उनी उम्केर भागेकी थिइन् । खेलाडी भएकै कारण उनले त्यो हिम्मत गर्न सकेको बताइन् । ‘खेलाडी भएर कमाइ गर्न सकिंदैन, खेल जिते पुरस्कार पाउने हो, नत्र केही छैन,’ उनले भनिन्, ‘जीवन चलाउन सकिन्छ भनेर विदेश जाने योजना बनाएँ, यस्तो नरकमा परेँ ।’

ऋण खोजेर २५ हजार रुपैयाँ बुझाएपछि एजेन्टले उनलाई विदेश पठाइदिएका थिए । फर्केर उक्त ऋण तिर्ने उनलाई पीर परेको छ । सकुशल फर्कन पाएकोले अब अन्य रोजगारी खोजेर घर व्यवहार चलाउने योजना सुनाइन् । विकलाई विदेश पठाउनेको खोजी गरेर कारबाही प्रक्रिया अगाडि बढ्ने केन्द्रका प्रमुख मीनप्रसाद उपाध्यायले बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024