यो देशमा भविष्य छैन भनेर युवाहरू विदेश पलायन भइरहेका छन् : गिरी

8 Feb, 2024

काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारबाट विश्वास गर्ने ठाउँ नभेटेर युवाहरू आत्मविश्वास गुमाइ विदेश भागिरहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गिरीले सरकारले जनतामा विश्वास जगाउने काम गर्न नसकेको बताए ।

युवाहरू देशभित्र नबस्ने अवस्थामा सरकारले नै पुर्‍याएको गिरीको भनाइ थियो । ‘यो राजनीतिक नेतृत्व र वर्तमान सरकारबाट जनताले आशा गर्ने ठाउँ भेट्न सकिरहेको छैन । त्यसै कारणले आफ्नो आत्मविश्वास गुमाएर युवाहरू देश छोडेर विदेश भाग्ने क्रम सुरु भएको छ,’ उनले भने, ‘जसरी एउटा रुख सुक्यो भने त्यसमा रहेका चराहरू रुख छोडेर हरियो रुखमा जान्छन् त्यसरी नै यो देशमा मेरो भविष्य छैन भनेर विदेश पलायन भइरहेका छन् ।’ सरकारले संविधान कार्यान्वयन गर्ने कानुन नल्याएको, सुशासनको पहल नगरेको पनि गिरीको भनाइ थियो ।

संसद्को अघिल्लो अधिवेशनमा एउटा मात्रै कानुन पास हुनुमा सरकारको कमजोरी रहेको गिरीको भनाइ थियो । उनले सरकार गैरजिम्मेवार हुँदा कानुन निर्माण हुन नसकेको बताए । त्यस्तै, समिति गठन र समितिको सभापति चयनका लागि पनि सरकारकै कारण अड्चन आएको उनको तर्क थियो ।

सभामुख देवराज घिमिरेले संसद्को क्यालेन्डर ल्याएको तर सरकारले बिजनेस नदिने हो भने त्यसले काम गर्न नसकिने पनि गिरीको भनाइ थियो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024