युवालाई स्वदेशमै रोजगारी र सिपमूलक शिक्षा दिनुपर्छ : राष्ट्रपति

27 Dec, 2023

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेशिरहेका नेपालीहरुलाई रोक्न स्वदेशमै रोजगारी र सिपमूलक शिक्षा दिनुपर्ने बताएका छन् ।

मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कुनैपनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्ने बताए ।

उनले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको बताए । राष्ट्रपति पौडेलले लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी गाउँ रित्तो भएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले गाउँ किन रित्तिँदै छ ? भन्नेबारेमा नीति निर्माण र शासन सत्तामा बस्नेहरुको चासो र चिन्ता हुनुपर्ने बताए ।

‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी सारा संरचना गाउँमा पुगिसक्यो, गाउँमा मोटर पुग्यो, बिजुली बल्यो, गाउँमा सञ्चार, स्वस्थ्य सुविधा, स्वास्थ्य चौकी, कलेजहरु सम्पूर्ण गाउँमा पुगे, तर सबै चिज पुगिसक्यो, गाउँ रित्तो पनि भइसक्यो,’ उनले भने, ‘त्यसलाई उपभोग गर्ने मानिसको अभाव भइसक्यो । आज गाउँ किन रित्तिँदै छ, नीति निर्माण र शासन सत्तामा बस्ने लगायत सबैको चिन्ता यसैमा केन्द्रित हुन जरुरी छ । शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली युवाहरु ताँती लागेर विदेशिने क्रम रोक्ने गरी रोजगारी र सीपमुक शिक्षा दिन जरुरी छ ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024