युवालाई स्वदेशमै रोक्ने कुरा गफमै सीमित भयो : निशा डाँगी

23 Aug, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले बिदेसिने युवालाई स्वदेशमै रोक्ने भन्ने कुरा गफमै सीमित भएको बताएकी छिन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसद डाँगीले यस्तो बताएकी हुन्।

चाडपर्व नजिकिँदै गरे पनि गाउँघरमा युवा नभएका उल्लेख गर्दै उनले बर्सेनि एक लाख १० हजारभन्दा धेरैले विदेश पढ्ने नाममा एनओसी लिएको विषयमा चिन्ता व्यक्त गरिन्।

‘अबको एक डेढ महिनापछि नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठ पर्वहरू आउँदै छन्। हाम्रो बाल्यकाल सम्झँदा यी चाडपर्वमा पिङ खेल्ने, मेला–बजार घुम्ने अवसर हुन्थे । अहिले गाउँमा पिङको लठारो बाँध्ने युवाहरूसम्म छैनन्। परिवारसँग चाडपर्व मनाउन छोडेर आजका हाम्रा युवाहरू पढ्न र काम गर्न बिदेसिन थालिसकेका छन् । नेपाली युवा बिदेसिए, यिनलाई रोक्नुपर्छ भन्ने कुरा गफमै मात्र सीमित भइरहेको छ,’ सांसद डाँगीले भनिन्।

ब्रेनड्रेन र ब्रेनगेनको कुरा गरेर मात्र नहुने भन्दै उनले भनिन्, ‘एनओसी दिँदा एउटा सर्भे गरियोस्– साँच्चै पढ्नका लागि गएका हुन् कि काम गर्न गएका हुन् । अथवा उतै सेटल हुन गएका हुन् । यो तथ्यांकविना नीति बनाउन सकिँदैन र काम गर्न नि सकिँदैन ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024