‘युवालाई उत्पादनसँग जोड्ने कार्यक्रम ल्याउँछौं’

8 Jul, 2024

काठमाडौँ — युवालाई उत्पादन र उद्यमसँग जोड्न मौद्रिक नीतिमा विशेष कार्यक्रम ल्याइने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरूलाई लक्षित गरी विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न सके मात्र देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन हुने क्रम रोकिने प्रस्ट्याए ।

‘देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन भन्ने भाष्यको विकास गराउन खोजिएको छ, त्यो सत्य होइन । देश सम्भावनाले भरिपूर्ण भए पनि केही साना–साना कुरामा सुधार गर्न नसक्दा युवाशक्ति विदेश पलायन हुन बाध्य भएका हुन्,’ उनले भने, ‘राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा पनि युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिन्छ ।’

व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग भएको विषयमा सत्यता नरहेको गभर्नर अधिकारीले बताए । कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा बाहिर आलोचना भए जस्तो दुरुपयोग नदेखिएको र केही व्यक्तिबाट दुरुपयोग भएकोमा त्यसलाई असुल प्रक्रिया अगाडि बढाइसकेको उनले जनाए ।

सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधिअनुसार नै अनुदान वितरण गरिएको गभर्नर अधिकारीको दाबी छ । हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको र त्यस्तो अनुदान पाउने प्रायः महिला तथा साना किसान रहेको उनको भनाइ छ । उद्यमशीलता विकास एवम् रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षरता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थामा भने यस्तो समस्या नआएको अधिकारीको भनाइ छ । ‘विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको छ,’ उनले भने । वास्तविक लाभग्राहीले सरकारी सेवा सुविधा र अनुदान पाउन नसकेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले जनाए । ‘कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीभन्दा पनि टाठाबाठाले पहुँचका आधारमा लिइरहेका छन्,’ उनले भने, ‘यसकारण सहुलियत कर्जा लक्षित वर्गमा पुग्न सकेको छैन ।’

सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको साना किसान विकास लघु वित्तका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले बताए । साना किसान लघु वित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको र देशभरका पाँच सय ५० स्थानीय तहमा साना किसान लघु वित्तको सेवा पुगिसकेको उनको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024