युक्रेनी सेनाको नियन्त्रणमा रहेका छोरा फर्काइदिन आग्रह

7 Dec, 2023

काभ्रे — रुसी सेनामा भर्ती भएका एक नेपाली युवक युक्रेनको कब्जामा रहेको भिडियो मंगलबार बिहानैदेखि सामाजिक सञ्जालमा चर्चामा थियो । भिडियोमा युवकले आफूलाई सकुशल घर फर्काइदिन अपिल गरेका थिए । यो खबर काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ घर भएका ढकाल थोकका बिदुर ढकाल र गंगा ढकालसम्म पनि पुग्यो ।

खबर सुनेलगत्तै उनीहरू छाँगाबाट खसेझैं भए । कारण थियो, भिडियोमा आफूलाई सकुशल नेपाल फर्काइदिन आग्रह गरिरहेका २२ वर्षीय सिद्धार्थ ढकाल उनै बिदुर र गंगाका छोरा थिए ।

गाउँमै खेतीपाती गरेर जीविका चलाइरहेका ढकाल दम्पतीका एक्ला सन्तान हुन्, सिद्धार्थ । कक्षा १२ सम्मको पढाइ सकेर थप अध्ययनका लागि उनी गत कात्तिक २ मा रुस गएका थिए ।

मण्डनदेउपुर–६ का वडाध्यक्ष सोमप्रसाद ढकालका अनुसार सिद्धार्थसँगै गाउँका अन्य तीन जना पनि थप अध्ययनका लागि भन्दै एजेन्टमार्फत रुस गएका थिए । त्यहाँ गएलगत्तै अरू तीन जना पढाइसँगै होटलमा काम गर्न थालेको कुरा उनीहरूका परिवारले जानकारी दिएको वडाध्यक्ष ढकालले बताए । सिद्धार्थ भने पढाइतिर नलागेर रुसी सेनामा लागेको आफूले जानकारी पाएको बताए ।

‘रुस गएको ४/५ दिनमै सामाजिक सञ्जालमा सिद्धार्थले रसियन सेनाको पोसाक लगाएको बन्दुक भिरेको तस्बिर राखेका थिए, त्यस्तो तस्बिर देख्नेबित्तिकै, यस्तो कुरा सामाजिक सञ्जालमा राख्नु हुँदैन भनेर सम्झाएको पनि थिएँ, तर पनि उनले तस्बिरहरू राख्न छाडेका थिएनन्,’ वडाध्यक्ष ढकालले भने ।

उनका अनुसार चारै जना उदयपुर घर भएका मनोज केसीमार्फत नौ/नौ लाख रुपैयाँ तिरेर रुस गएका थिए । ‘मंगलबार बिहान त्यो भिडियो हेर्दा त झसंग भएँ । घरमा खबर पुगेपछि त रुवाबासी चलिरहेको छ । आमाबुबाको एउटै कुरा छ, जसरी भए पनि छोरालाई सकुशल ल्याइदिनुपर्‍यो,’ वडाध्यक्ष ढकालले भने ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024