युके र दुबई पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

20 Jan, 2025

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २३ वर्षीया सन्जिता गुरुङ र तनहुँ भिमाद नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ५० वर्षीय रेशम राज लामिछाने रहेका छन्।

पक्राउ मध्ये सन्जिताले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६० लाख ८९ हजार रूपैयाँ र रेशम राजले दुबई पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट २४ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्जितालाई काठमाडौं न्यूरोडबाट र रेशम राजलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024