युएईमा ५४ नेपाली बन्धक, उद्धारको गुहार

16 Jul, 2024

वैदेशिक रोजगारीमा युएई पुगेका ५४ जना नेपाली कामदार एक महिनाभन्दा बढी समयदेखि बन्धकमा परेका छन्। रोजगारीका लागि युएईको टोर्नाडो ग्रुपमा गार्डेनरको रूपमा श्रम सम्झौतापछि सबै कामदार काठमाडौंको नयाँ बानेश्वरस्थित ओसो रिक्र्युटिङ एजेन्सी प्रालि म्यानपावरमार्फत त्यहाँ पुगेका हुन्। तर उक्त म्यानपावरको श्रम सम्झौताअनुसार काम केही नभएको बन्धक पीडित महोत्तरीका मिठु पासमान बताउँछन्।

‘यहाँ एक महिनादेखि बाहिरबाट चुकुल लगाएर भेडाबाख्रालाई झैं थुनेको छ,’ दुबईको हाइल्यान्ड भन्ने ठाउँमा बन्धक बनेका पासमानले भने, ‘खान केही दिएको छैन। एउटै कोठाभित्र २५ जनाभन्दा बढी नेपाली साथीलाई राखेको छ। गर्मीले गुम्सिएर मर्नु भएको छ। पिउने पानी त दिएको छैन। भोकैले मरिन्छ होला।’

एउटै बिल्डिङमा पल्लोपट्टि कोठामा अन्य ५४ नेपालीलाई बन्धक बनाइराखेको पीडितले बताए। ती बन्धकमा परेकाहरू ओसो म्यानपावरमार्फत दुई समूह गरेर युएई पुगेका थिए। गत जेठ ३१ गते युएई पुगेको दोस्रो समूह र त्योभन्दा पहिला पुगेको पहिलो समूहलाई गार्डेनको काम भनेर झुक्याई साउदी अरेबियाको सीमानजिकै रहेको घनघोर जंगलमा लगेर जंगलको रेखदेख र खजुर टिप्ने काम दिएको पीडित बताउँछन्।

‘नेपालबाट आउनेबित्तिकै हामीलाई सहरभन्दा करिब चार घण्टा टाढा रहेको ठुलो जंगलमा छोडियो। यहाँ किन ल्याएको भनेर प्रश्न गर्दा जबाफमा तिमीहरूको काम नै यही जंगल हेर्ने हो। यो जंगलको रेखदेख गर्ने र यहाँ रहेको खजुर टिप्ने र सँगै अलि पर खेतीको काम छ, त्यो गर्ने भन्यो,’ बन्धक पासमानले भने, ‘त्यहाँ बडा–बडा सर्प निस्किरहेका थिए। डर लाग्ने, पुरै जंगल थियो। एउटा घर थिएनन्। कोही बिरामी प¥यो भने उपचार गर्ने ठाउँ अथवा कुनै बास बस्ने ठाउँ केही थिएन।’ यस्तो ज्यानकै जोखिम मोलेर काम नगर्ने भनेर सबै फर्किएको पीडित बताउँछन्।

इमोमार्फत पीडित पासमानले कुराकानी गर्दैगर्दा अर्का पीडितले फोन खोसेर नागरिकसँग भने, ‘त्यो पुरै डरलाग्दो जंगल थियो। त्यहाँ कसरी काम गर्ने र हामीले ? गाउँमा खेती गरिरहेका थियौं। बिचौलियाले दुबईमा गार्डेनको काम छ भनेर आएको तर जंगलको झाडीमा लगेर छाडेपछि कसरी काम गर्ने ? त्यही पनि त्यो काम नै लगाउन लगेको होइन। यत्तिकै अलमल्याउन लगेको हो, यस्तो ठाउँमा काम गर्दैनौं भनेपछि कोठामा ल्याएर थुनेका हुन्।’

उनका अनुसार खान केही नदिएको एक महिना कटिसक्यो। ‘कुनैकुनै साथीले नेपालबाट धेरथोर पैसा बोकेर आउनाले हामी बाँचिरहेका छौं। अब त उनीहरूसँग पनि पैसा सकिइसक्यो। एउटा साथीले १० दिराम तिरेर केही दिनको वाइफाई सुविधा पाएको हुनाले तपाईंसँग कुराकानी भइरहेको छ। हामीलाई उद्धारको पहल गरिदिनू है,’ उनले भने।

भोक मार्न नसकेर अरूसँग खानेकुरा माग्दै खाना खाइरहेको पीडितले बताए। गार्डेनमा फूल रोप्नुका साथै फूलबिरुवा कटिङ गर्ने भनी श्रम सम्झौता नै गरेर आफूसँग करिब दुई लाख पैसा ओसो म्यानपावरले लिएको पीडित पासमानले बताए। सुक्खा तलब १२ सय दिराम (नेपाली ४३ हजार ६ सय ६८ रूपैयाँ) हुन्छ भनेको उनी सम्झन्छन्।

नेपालबाट दुई समूह गरी युएई पुगेका केही पीडितले ओसो म्यानपावरद्वारा सञ्चालित एजेन्ट फूलबाबु यादबलाई एक लाख ७५ हजारदेखि तीन लाख रूपैयाँसम्म र केहीले ओसो म्यानपावरलाई बुझाएको पीडितको दाबी छ। ओसो म्यानपावरबाट ३८ जनाको पहिलो समूह थियो भने बाँकी दोस्रो समूहमा युएई पुगेको बन्धकहरू बताउँछन्।

ओसो म्यानपावरले युएईमा गार्डेन काम गरेबापत १२ सय दिराम तलब हुन्छ भनी सम्झौता गरेकामा त्यहाँ पुगेपछि जबरजस्ती तलब ६ सय र खानबस्नका लागि दुई सय दिराम (नेपाली २९ हजार ११२ रूपैयाँ) लिने भनेर सही गर्न लगाएको अर्का बन्धक पीडित रुदल शाह बताउँछन्।

‘हामीलाई यहाँको १२ सय हुन्छ भनेर ओसोले पठाएको थियो,’ उनले भने, ‘तर, यहाँ एक भारतीय महिलाले नेपालको ओसो म्यानपावरले यति नै दिनु भनेर पठाएको हो भन्दै जबरजस्ती ६ सय प्लस २ सय युएई पैसामा सही गर्न लगाइन्।’

उनीहरूले ओसो म्यानपावरलाई खबर गरे पनि वास्ता नगरेको पीडितको आरोप छ। त्यति मात्रै नभएर सबै अलपत्र कोठाभित्र थुनेको भिडियो र फोटा पनि पीडितले ओसोलाई पठाएको बताउँछन्।

‘हामी नारकीय अवस्थामा छौं, नेपाल फिर्ता गरिदिनु भनेका थियौं एजेन्ट र ओसो दुवैलाई। तर, उनीहरूले हाम्रो पठाउने काम हो। हामीले पठायौं। अरू मतलब भएन भनेर टारे। एजेन्ट पनि सम्पर्कमा आएन,’ पीडित शाहले भने। फ्री भिजा फ्री टिकट भनेर प्रलोभनमा पारी लाखौंलाख रूपैयाँ लिई अहिले यो हाम्रो जिम्मा होइन भनेर एजेन्ट र मेनपावर दुवै पन्छिएको पीडितहरू गुनासो गर्छन्।

बारक्बार एजेन्ट र म्यानपावरलाई सम्पर्क गर्दा उल्टै धाकधम्की दिँदै ‘जे गर्न मन लाग्छ गर’ भनेको बताए। उनीहरूले बाध्य भएर नागरिकको सम्पर्कमा आएको बताएका छन्। ‘पशुलाई किलामा बाँधे पनि समयमा दानापानी हालिन्छ,’ उनले भने, ‘तर हामी त मान्छे हौं नि, पशुलाई जति पनि गरेका छैनन्। पशु भए यतिबेला कराएरै मरिसक्थे। हामी त मान्छे हो कतिसम्म सहने र? काम दिन्छ होला भनेर बसेको भोकमरीले नै मर्न लाग्यौं।’

महोत्तरी जिल्ला प्रशासन कार्यालय जलम्बरीमा ‘उद्धार गरी पाऊँ’ भनेर बन्धक ३२ वर्षीय पीडित मिठु पासमानका लागि उनका परिवारजन जिनु पासमानले निवेदन दिएका छन्। सम्झौताअनुसारको कुनै पनि काम नभएको र कोठामा पशुसरह व्यवहार गरेको भन्दै स्वदेश फिर्ताका लागि उद्धार याचनाको माग बन्धक पीडितले गरेका छन्।

युएई पुगेका ५४ जना सकुशल स्वदेश फर्कन पाऊँ भन्दै उद्धारको हात फैलाइरहेका छन्। नेपाल सरकारअन्तर्गत रहेका म्यानपावरवालाले नै श्रमिकको यस्तो दुर्गति गरेपछि अरूको त के विश्वास गर्ने भनेर उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

बन्धक नेपालीहरू

रुदल साह, कृष्णबहादुर बडही, सूर्यनारायण साह, शंकर पण्डित, अभयकुमार मण्डल, सूर्यमानकुमार मण्डल, धिरजकुमार मण्डल, कुलदीप सादा, उपेन्द्र सादा मुसहर, सिकिन्द्र मण्डल, सत्रोहन ठाकुर, रामकिशोर मण्डल धानुक, शितेशकुमार मण्डल, अभिषेक चौधरी, सतीलाल उराब, वीरकुमार उराब, मिठु पासमान, हरेराम पण्डित, कृष्ण उराब, सुरज पासमान, बिटु पासमान, समीरकुमार मण्डल, लालबाबु मुखिया, सञ्जीब चौधरी, गुरुसरण खतवे, केशवकुमार खतवे, रामकृष्ण महरा, अली सुसेन सेख, शिवकुमार चमार, आलम राइन, मोइन सिकलगर, असरफ सिकलगर, अमितकुमार यादव, सुधीर मण्डल, इन्द्रजितप्रसाद लौन्या, रामकिसन यादव, दीपककुमार मण्डल, दीपेन्द्र यादव, मनोज चमार, सरोज मुसलमान, मुन्ना तेली, कृष्णराम, रामकुमार राम।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024