यातना प्रकरणमा नेपाल सरकारको चासो

19 Apr, 2015

मलेसियाका जेल तथा घर फिर्ती केन्द्रमा रहेका नेपालीलाई निर्वस्त्र बनाई यातना दिइने गरेको विषय सार्वजनिक भएपछि नेपाली दूतावासले त्यसबारे सोधखोज थालेको छ । परराष्ट्र मन्त्रालयले पत्र पठाई यस विषय ‘गम्भीर’ भएको भन्दै सत्यतथ्य बुझ्न निर्देश गरेपछि मलेसियास्थित नेपाली दूतावास अग्रसर भएको हो ।

दूतावासले पटकपटक जेल र फिर्ती केन्द्रहरूमा रहेका नेपालीहरूलाई भेट गरेको तर कसैले पनि यसअघि आफूसित त्यस्तो गुनासो नगरेको जनाएको छ । ‘आफूहरूलाई निर्वस्त्र बनाई विभिन्न तवरले यातना दिइने गरेको’ भनी फिर्ती केन्द्रबाट फर्किएका एक नेपाली युवाको भनाइ उद्धृत गर्दै समाचार हालै सार्वजनिक भएको हो । परराष्ट्र मन्त्रालयले पठाएको पत्र मंगलबार प्राप्त भएको र औपचारिक तथा अनौपचारिक दुवै तवरले यस विषयमा बुझ्न लागिएको राजदूत निरञ्जनमान सिंह बस्न्यातले जानकारी दिए ।

‘मन्त्रालयबाट पठाइएको पत्र मंगलबार नै प्राप्त भइसकेकोले अब हामी औपचारिक र अनौपचारिक दुवै तवरले उक्त विषयमा जानकारी लिँदै छौं,’ बस्न्यातले बुधबार कान्तिपुरसित टेलिफोनमा भने, ‘विस्तृत बुझेपछि सत्यतथ्य आउँछ ।’ उनका अनुसार यसअघि कहिल्यै त्यस्तो यातना दिइएको भन्ने गुनासो आएको थिएन । ‘हामीले पटक पटक जेल र घर फिर्ती केन्द्रहरूको भ्रमण गरेका छौं । त्यहाँ रहेका नेपालीलाई भेटेका छौं तर निर्वस्त्र बनाएर यातना दिन्छ भनेको गुनासो सुनेका थिएनौं,’ बस्न्यातले थपे, ‘बरु गाईगोरुको मासु खान बाध्य बनाइयो, आफन्त र परिवारलाई सहज सम्पर्क गर्नमा कडाइ गरियो भन्नेजस्ता गुनासाहरू आउने गरेका थिए ।’

मलेसियाको एक न्युज पोर्टल ‘फ्रि मलेसिया टुडे’ मा प्रकाशित खबरअनुसार उक्त घटनाले मानव अधिकारको हनन् मात्र नभई विश्वमै मलेसियाको छविलाई बिगार्न सक्ने भन्दै एकजना मलेसियाली सांसद (डेमोक्रेटिक एक्सन पार्टी सम्बद्ध) ले समेत यसबारे छानबिन गर्न सरकारसमक्ष माग गरेका छन् । मलेसियामा बन्दीगृहमा सजाय भुक्तान गरिसकेकाहरूलाई घर फिर्ती केन्द्रहरूमा राख्ने गरिन्छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024