‘यहाँ बाँच्नै गाह्रो भो, घर फर्काइदिनुस्’

27 Nov, 2023

घरेलु कामदारका रूपमा कुवेत पुगेकी म्याग्दीको बेनी नगरपालिका ९ काउँलेगौंडाकी हिराकुमारी चोखाल बिचल्लीमा परेकी छन्। जटिल रोगबाट ग्रसित पतिको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि पाँच महिनाअघि भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया उनले उद्धारको याचना गरेकी छन्।

पति गोविन्दबहादुर चोखालको उपचारका लागि भारत पुगेकी हिराकुमारीलाई त्यहाँ भेटिएका काठमाडौंका दलाल ग्याल्पा लामाले मासिक ५० हजार कमाइ हुने र खाने–बस्ने सुविधा भएको भन्दै फ्री भिसा र फ्री टिकटमा एक कम्पनीमा पठाएका थिए। कुबेतमा पुगेको भोलिपल्टै एजेन्टले मोटो रकम लिएर कुबेतीका घरमा बेचेपछि अहिले शारीरिक तथा मानसिक यातना भोगिरहनुपरेको हिराकुमारीको भनाइ छ। ‘ठूलो परिवारमा भोकभोकै काम गर्नुपर्छ। परिवारका सबै मिलेर पालैपालो यातना दिन्छन्’, चोखालले भनिन्।

कुबेतमा पुगेपछि भारतबाट पठाउने दलाल लामाका एजेन्टले एक कुवेतीका घरमा आठ सय कुबेती दिनारमा बेचेपछि आफूमाथि निरन्तर चर्को श्रम शोषण भइरहेको उनले बताइन्। ‘पतिको उपचारमा सधैं मागेर नपुग्ने भएपछि कमाउन आएकी थिएँ, ‘भोकभोकै काम गर्नुपर्दा बिरामी भएकी छु’, चोखालले भनिन्।

उनले बिहान पाँच बजेदेखि राति १० बजेसम्म कामै मात्र गर्नुपर्ने र बिरामी भएको र अलिकति काम बिगार्नेबित्तिकै पालैपालो पिट्ने, तलब सुविधा नदिने, जुठो र वासी खानेकुरा दिने गरेको बताइन्। ‘साना बालबालिकादेखि साहुले पिट्छन्, घरपरिवारको फोटो देखाएर समस्या सुनाउँदा झनै यातना दिन्छन्’, पीडित उनले भनिन्। चोखालले घरमा काम गर्ने नेपालीसँग समेत बोल्न नदिने र तोकिएको काम गर्न नसके कुटपिट गर्ने गरेको बताउँदै घर फिर्तीका लागि सहयोग गर्न अपिल गरेकी छन्। चोखालका श्रीमान गोविन्दले श्रीमतीलाई राम्रो जागिर र तलब सुविधाको प्रलोभन देखाएपछि उपचारका क्रममा भारतमा रहँदा सहमतिमै कुवेत पठाएको बताए।

‘मेरो उपचारमा धेरै खर्च लाग्छ, छोराछोरीको पढाइमा पनि सजिलो हुन्छ भनेर पठाएको थिएँ, अहिले उनी रुँदै फोन गर्छिन्’, गोविन्दले भने । सुगर, प्रेसर, मुटुलगायत शरीरमा समस्या देखिएपछि गोविन्दले नियमित उपचार गर्न खर्च अभाव भएको बताए। हिराकुमारीलाई उद्धार गरी घर पठाइदिन कुबेतमा रहेका म्याग्देलीसँग उनले अनुरोध गरेका छन्। बेनपा ९ काउँलेगौडाका स्थानीय युवा चिरञ्जीवी सुवेदीले पीडित हिराकुमारीको परिवार आर्थिक रूपमा विपन्न भएको बताए।

उनले पतिको उपचारमा समुदायबाट सहयोगसमेत जुटाएको र सकिएपछि थप उपचारका लागि कुबेत गएको बताए। ‘बिहान–बेलुकी खानसमेत धौ–धौ छ, बालबालिकाको बिचल्ली भएको छ’, सुवेदीले भने। यता मोना कुबेतका अध्यक्ष दीपक छन्त्यालले पीडित चोखालको समस्या समाधानका लागि पहल भइरहेको बताए। ‘अवैध बाटोबाट आउनेको धेरै समस्या छ, उद्धार र कानुनी प्रक्रिया नै जटिल छ’, अध्यक्ष छन्त्यालले भने। उनले दलालको प्रलोभनमा भारतीय बाटोबाट आएका म्याग्देली चेली घरेलु कामदारमा पठाउने गरिएकाले उद्धारमा समस्या हुने बताए। ‘श्रम स्वीकृति नभएको घरेलु कामदार बनेर कुबेत नआउन अपिल गर्दछु। घरेलु कामदार भाग्दा पनि चोरी आरोपमा फसाउने गर्दछन् । दूतावासबाट पनि घर फिर्ती प्रक्रिया झन्झटिलो हुन्छ’, अध्यक्ष छन्त्यालले भने। कुबेतमा भारत हँुदै अवैध मार्गबाट आएका घरेलु कामदारका रूपमा कार्यरत अन्य म्याग्देली चेलीले समेत उद्धारको अनुरोध गर्ने गरेको मोना कुवेतले जनाएको छ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा महिला कामदार पठाउने गर्छन्। खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू अधिकांश साधारण लेखपढसमेत नभएकाले समस्या भएको मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बताए । उनले अशिक्षित, विना तालिम, कानुनी प्रक्रिया छलेर गएका घरेलु कामदारले आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ र कसरी सम्पर्क गर्ने स्थानबारे पनि जानकारी नहुने हुँदा उद्धारमा थप समस्या हुने गरेको बताए।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न देशमा पुग्ने कामदारसँग श्रम स्वीकृति नहुँदा समस्यामा परेको अवस्था, मृत्यु वा बिरामी परेको खण्डमा नेपाली दूतावाससँग सहकार्य गरी काम गर्ने गरिएको बताए। ‘घरेलु कामदारलाई गैरकानुनी बाटो मृत्यु मार्ग जस्तै हो। गैरकानुनी रूपमा खाडी पुगेका महिलाले धेरै समस्या झेल्नुपरेको छ’, कोषाध्यक्ष फगामीले भने। उनले प्रवासी म्याग्देली र म्याग्दीका स्थानीय तह, अन्य सरोकारवाला निकायले समेत गैरकानुनी रूपमा खाडी मुलुक जाने घरेलु कामदारलाई रोक्न भोगेका समस्या सुनाउँदै सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए।

खाडी मुलुकमा अवैध बाटोबाट पुगेका नेपाली महिलालाई एजेन्टले घरेलु कामदारका रूपमा बिक्री गर्ने गरेकाले समयमै तलब नपाउने समस्या झेल्नुपरेको छ। म्याग्दीबाट भारत हुँदै खाडी मुलुकमा जाने महिला कामदार विगतमा पनि नारकीय जीवन बाँच्न बाध्य थिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024