यसरी भेटिए युइईमा मारिएका गणेशका आफन्त

9 Jul, 2012

अमर खड्का

युनाइटेड अरब इमिरेटस् (यूएई) मा हत्या गरिएका गणेशबहादुर बस्नेतका आफन्त भेटिएका छन्। सिन्धुली स्थायी घर भए पनि सुनसरी हाँसपोसाबाट नागरिकता बनाएकाले गर्दा गणेशका आफन्त सात महिनापछि भेटिएका हुन्।  बस्नेतका आफन्त पत्ता लगाउन हाँसपोसा गाविसले शनिबार बिहानदेखि नै माइकिङ गरेको थियो। हाँसपोसा गाविस कार्यालयले सात महिनादेखि खोजी जारी राखेको थियो।  बस्नेत हत्या आरोपमा पर्वत चित्रे-५ का ३० वर्षे दुर्गाबहादुर सुनारलाई मृत्युदण्ड सजाय कार्यान्वयन हुन तीन महिनामात्र बाँकी रहेका बेला बस्नेतका आफन्त कोही पत्ता नलागेपछि खोजी गर्न माइकिङ् गरिएको थियो । 

 

माइकिङ गरेपछि मोरङ, उर्लाबारी घर भएका गणेशका मामा महेन्द्र बिष्ट र आफन्त दाजु शान्तबहादुर रायले आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत पराराष्ट्र मन्त्रालयमा सम्पर्क गरे। आफन्तले सम्पर्क गरेलगतै मृतक गणेशका बाबुआमा पनि परराष्ट्र मन्त्रालय पुगेर छोराको बारेमा जानकारी लिए। 

 

परराष्ट्र मन्त्रालयका उपसचिव दिलीपकुमार पौडेलका अनुसार गणेशका बाबुआमाले छोरा मारिएको अहिलेसम्म पनि जानकारी पाएका थिएनन्। दुई/तीन भित्रमा सम्हालिएपछि पुनः डाकिएको उनले जानकारी दिए। ‘सुनारलाई मार्न नचाहने पक्षमा गणेशका बाबुआमा सकारात्मक हुनुहुन्छ,’ पौडेलले भने, ‘हाम्रो सन्तान त मारियो अरुको सन्तान मार्नुहुँदैन भन्नेमा हुनुहुन्छ।’

 

गणेशको सात महिनादेखि गाविसले सम्पूर्ण तथ्यांक हेर्दा पनि पत्ता लगाउँन सकेको थिएन्। ‘शनिबार बाबुको नामसहित माइकिङ गर्नाले आफन्त सम्पर्कमा आएका हुन्,’ गाविस कार्यालयका कर्मचारी सन्जीव खड्काले भने। नौ वर्षअघि यूएइ गएका गणेशले सुरुवातको एक वर्षसम्म चिठीसँगै फोन सम्पर्क गर्ने गरे पनि त्यसयता भने सम्पर्क टुटेको थियो। गणेशले घरमा सम्पर्क नगरेपछि बाबु मोहन चिन्ताले मानसिक रुपमा विक्षिप्त बनेका थिए। 

 

सिन्धुली घर भएका गणेशका बाबु मोहन ०३५ सालताका पूर्वाञ्चल क्षेत्रीय कृषि केन्द्र हाँसपोसामा ज्यालादारी कर्मचारी थिए। उनले त्यहाँ झन्डै तीन वर्षसम्म काम गरेका थिए। पछि गणेशको हाँसपोसाबाटै नागरिकता बनाएका थिए। 

 

गणेशका बाबु मोहन र आमा रुपकला भनिने अम्बिका राजधानी काठमाडौंमा कोठाभाडा लिएर बस्दै आएका छन्। गणेशकी बहिनी सीता सामान्य जागिरे छन्। परिवारको आर्थिक अवस्था दयनीय छ। ‘परिवारको आर्थिक अवस्था दयनीय भएकाले गर्दा एउटा भएको भाइ पनि विदेश गएको थियो,’ आफन्त रायले भने। 

 

गणेशका बाबुआमा सामान्य पसल गरी बिहान-बेलुकाको गुजारा टार्ने गरेका छन्। ‘जे काम गर्दा हुन्छ त्यही गरेर बिहान-बेलुकाको छाक टारिरहेका छन्,’ गणेशका मामा महेन्द्रबहादुर बिष्टले भने, ‘छोरा गएको एक वर्षपछि नै सम्पर्क टुटेको थियो, यतिका वर्षपछि मारिएका थाहा भयो।’ 

 

युएइको सारजहाँस्थित अदालतले सुनारलाई झुन्डियाएर मृत्युदण्ड दिने सजाय सुनाएको थियो। सुनारलाई अदाललते माफीका लागि पीडित परिवारसँग सहमति गर्न आगामी सेम्टेम्बरसम्मको समय दिएको छ। इस्लामिक कानुन अनुसार पीडित परिवारले ब्लड मनी स्वीकार गरे माफी हुन सक्छ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024