म्यानमारबाट उद्धार गरिएका १२ नेपालीलाई थाइल्याण्ड हुँदै स्वदेश फर्काइयो

8 May, 2025

२५ वैशाख, काठमाडौं । म्यानमारबाट उद्धार गरिएका १२ जना नेपालीहरुलाई थाइल्याण्डको बैंकक हुँदै नेपाल फर्काइएको छ ।

म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरिएका ११ पुरुष र एक महिलालाई थाइल्याण्ड सरकारको सहयोगमा बैंककस्थित नेपाली राजदूतावासले वैशाख २४ गते नेपाल फर्काएको हो ।

अनलाइन स्क्यामिङ कार्यमा संलग्न गराइएका ती नेपाली नागरिकहरूलाई उद्धार गरी टाक इमिग्रेशन अफिस, मे सोट हुँदै थाइल्याण्ड ल्याइएको थियो । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उद्धार गरिएका १२ नेपालीलाई स्वदेश फर्काइएको जानकारी दिएको हो ।

सबै नेपाली नागरिकलाई नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान राजदूतावासले अनुरोध समेत गरेको छ । साथै, छिटो समयमा र धेरै पैसा कमाउने लालचमा परेर कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका देशहरूमा अवैध रूपमा नजान पनि सचेत गराएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024