म्यानमारका नेपाली उद्धारका लागि परराष्ट्रको चासो

20 Jul, 2023

म्यानमारमा चिनियाँ आपराधिक समूहबाट बन्धक बनेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयले पहल थालेको छ । मन्त्रालयले बुधबार म्यानमारस्थित नेपाली दूतावासलाई त्यहाँको अवस्था बुझ्दै उद्धारका लागि पहल गर्न निर्देशन दिएको छ ।

आइटीसम्बन्धी रोजगारको प्रलोभनमा थाइल्यान्ड हुँदै म्यानमार पुगेका सयौँ नेपालीलाई चिनियाँ समूहले बन्धक बनाएर अनलाइनसम्बन्धी ठगीमा लगाएका छन् । नेपाल फर्कन खोज्दा पनि यातना दिँदै लाखौँ फिरौती माग्ने गरिएकाले पीडितहरूले उद्धारका लागि हारगुहार गर्दै आएका छन् । केही व्यक्ति फिरौती बुझाएर फर्किएका छन् भने बुझाउन नसक्नेहरू यातना खेपेर त्यहाँ रहेका छन् । हालै फर्किएका नेपालीले हजारभन्दा धेरै नेपाली म्यानमारको म्याओद्दीमा रहेको बताएका छन् ।

समस्यामा परेका नेपालीको उद्धारका लागि पहल भइरहेको म्यानमारस्थित नेपाली दूतावासले जनाएको छ । ‘हामीले पहिलेदेखि नै उद्धारका लागि यहाँको सरकारसँग पहल गर्दै आएका छौँ,’ नेपाली दूतावासका तृतीय सचिव प्रशान्त ठाकुरले भने, ‘परराष्ट्र मन्त्रालयबाट पनि थप चासो व्यक्त भएको छ, हामीले यहाँ आफ्नोतर्फबाट अधिकतम समन्वय गरिरहेका छौैँ ।’ केही पीडित आफूहरूको सम्पर्कमा रहेको उनले जानकारी दिए ।

नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले विगतमा मन्त्रीहरूलाई भेटेर उद्धारका लागि आग्रह गर्दै आएका छन् । तर, नेपाली रहेको क्षेत्रमा विद्रोहीको प्रभाव भएकाले आफूहरूले समेत उद्धार गर्न नसक्ने जवाफ त्यहाँका सरकारी अधिकारीले दिने गरेका छन् । उद्धार हुन नसक्दा नेपालबाट फिरौती पठाएर मात्र केही मुक्त भएका छन् । तर, भारत सरकारले भने हालै त्यहाँबाट आफ्ना नागरिकको उद्धार गरेको थियो । नेपाल सरकारले यसे विषयमा गम्भीरता नदेखाएको पीडितको भनाइ छ ।

यसरी नेपाल फर्किएकाले धमाधम प्रहरीमा उजुरी दिएका छन् । कतिपयलाई नेपालमै रहेका चिनियाँले त्यहाँ पठाएका छन् । हालसम्म यस्तो धन्दमा संलग्न तीनजना चिनियाँ नेपालमा पक्राउ परिसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठ बताउँछन् ।

उनीहरूले चिनियाँ भाषा अनुवादकमा प्रयोग गरी नेपालीलाई थाइल्यान्डमा आइटीसम्बन्धी काममा लगाउने भन्दै गोप्य क्याम्पमा लगाएर बन्धक बनाई अनलाइनमार्फत हुने ठगीमा लगाउने गरेका छन् । लक्ष्यअनुसार ठगी गर्न नसके खान नदिने तथा यातना दिने गरेका छन् । करेन्टसमेत लगाएर यातना दिने गरिएको हालै नेपाल फर्किएका पीडितले बताए ।

पछिल्लो एक हप्तामा मात्र १३ जना पीडितका परिवारले उद्धारका लागि निवेदन दिएका छन् । पैसा माग्दै चरम यातना दिन थालेपछि परिवारहरू प्रहरी र परराष्ट्र मन्त्रालय पुगेका छन् । गत फागुनमा पनि यस्तै १३ जनाको निवेदन परेकोमा उद्धार हुन नसकेपछि पीडितहरू फिरौती बुझाएर फर्किएका थिए ।

फर्किएका व्यक्तिहरूको उजुरीका आधारमा एक चिनियाँ नागरिक र एजेन्ट सुनिता नेपालीलाई थुनामा राखी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । उजुरी आउने क्रम बढेको ब्युरोका एसएसपी श्रेष्ठ बताउँछन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024