काठमाडौं: सरकारले म्यानपावर व्यवसायको वर्गीकरण गर्ने भएको छ। सरकारले मापदण्ड तथा स्तर मापदण्ड गरी वर्गीकरण गर्न लागेको हो।
म्यानपावर वर्गीकरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न कार्यदल गठन गरेको छ। त्यसका लागि सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य छन्। कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचक तयार गर्नेछ।
वर्गीकरण गर्दा म्यानपावर कम्पनी कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए। वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गीकरण गर्न लागिएको मन्त्री श्रेष्ठले बताए। ८ सय ६० वटा म्यानपावर कम्पनी सञ्चालनमा छन्।