मेलवर्न सिटी काउन्सिलले अष्ट्रेलियामा रोजीरोटी गुमाएका विद्यार्थीलाई सहयोग गर्ने

10 Apr, 2020

कोभिड १९ महामारीका कारण रोजीरोटी गुमाउन पुगेका लाखौँ अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेकालाई मेलबर्न सिटी काउन्सिलले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

मेलबर्नकी मेयर स्याली क्यापले दुःखमा परेका विद्यार्थीका लागि संघीय एवं राज्य सरकार मिलेर एक राहत कोष स्थापना गर्नुपर्ने बताउँदै त्यसका लागि आफ्नो काउन्सिल, अन्य स्थानीय निकाय, विश्वविद्यालय र निजी क्षेत्रसमेत मिलेर सहयोग गर्न सकिने जिकिर गरेकी छिन्। 

“हरेक वर्ष, मेलबर्न हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई खुला हृदयले स्वागत गर्छ, यो केवल उनीहरूको आर्थिक योगदानका कारण मात्र कदापी होइन, हाम्रो समुदायमा उनीहरुप्रतिको उच्च मूल्यांकन पनि हो” क्यापले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्। 

अष्ट्रेलियामा मेलबर्न सिटी काउन्सिल अष्ट्रेलियाभरका अन्तर्राष्ट्रिय विद्यार्थीलाई आर्थिक सहयोगको वाचा गर्ने पहिलो सरकारी निकाय बन्न पुगेको छ। 

कति रकम र कसरी भुक्तानी हुने भन्ने बारेमा हाल केही स्पष्ट नभए पनि काउन्सिलरहरूले विदेशी विद्यार्थीलाई सहयोगबारे मार्ग प्रशस्त गर्ने गृहकार्य अघि बढाइसकेका छन्। 

खुद्रा पसल तथा रेष्टुरेन्ट, बार एवं क्याफेहरू बन्द भएपछि रोजगार गुमाएका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरू आर्थिक मारमा परेका हुन्। उनीहरूमध्ये धेरै विद्यार्थी क्याजुअल कामदारका रूपमा काम गर्छन्। 

आफ्नै नागरिक एवं स्थायी बासिन्दाहरूमा सहयोग केन्द्रित रहनु पर्ने बताउँदै आएका प्रधानमन्त्री स्कट मरिसन भने अन्तर्राष्ट्रिय विद्यार्थी लगायतका अस्थायी बासिन्दाप्रति अझै नरम देखिएका छैनन्।

एक वर्ष काम गरिसकेका अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो सुपरएनुएसनबाट १० हजार डलरसम्म झिक्न पाउने व्यवस्था गरिएको र कामको दायरा फराकिलो गरिएको बताएकाले उनले यस विषयलाई गम्भीर रुपमा नलिएको स्पष्ट हुन्छ। 

“अन्तर्राष्ट्रिय विद्यार्थीहरू अष्ट्रेलियाको अर्थतन्त्रका लागि ठूला योगदानकर्ता रहेकाले यतिबेला अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवालासँग मिलेर काम गर्नु पर्ने बेला आएको काउसिल अफ इन्टरनेशनल स्टुडेन्ट अष्ट्रेलियाका पुर्व अध्यक्ष विजय सापकोटाले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024