काठमाडौँ — भारतको पूर्वोत्तर राज्य मेघालयस्थित कोइलाखानीमा हत्या गरिएका चार कामदारमध्ये एक नेपाली भएको पुष्टि भएको छ । शनिबार मारिएका चारै जना नेपाली भएको बताइए पनि आइतबार साँझसम्म एकजना मात्रै नेपाली रहेको खुलेको हो ।
मेघालयको जयन्तिया हिल्सस्थित उम्प्लेङ गाउँमा हत्या गरिएकामध्ये एक भारतीयको पनि परिचय खुलेको छ । बाँकी दुई जनाको सनाखत हुन नसकेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । घटनास्थल मेघालयको राजधानी सिलोङबाट १ सय ३० किमि दूरीमा रहेको पहाडी क्षेत्रमा पर्छ ।
भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार हत्या भएका नेपाली इलाम–२ का २३ वर्षीय रवि राई हुन् । राजदूत शर्माले हत्या भएको घटना सुन्नेबित्तिकै मेघालय प्रहरीका प्रमुख एलआर विश्नोईलाई आफूले टेलिफोन गर्दै घटनाको विस्तृत जानकारी मागेको बताए ।
‘शनिबार दिउँसो थाहा पाउने बित्तिकै घटनाबारे बुझ्न लागि त्यहाँका प्रमुखसँग कुराकानी गरेको थिएँ । साथै, हत्याको सम्बन्धमा विस्तृत अनुसन्धान गरेर जानकारी दिन पनि आग्रह गरेको छु,’ राजदूत शर्माले भने । स्थानीय प्रहरीका अनुसार घटना शनिबार बिहान साढे ७ बजे भएको थियो ।
इलामकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले मृतक राई इलामको भन्ने पुष्टि भए पनि स्थानीय ठेगाना र पारिवारिक विवरणबारे विस्तृत विवरण आइनसकेको बताइन् । उनले विवरण पत्ता लगाउनका लागि सुरक्षा निकायहरूलाई निर्देशन दिइएको पनि बताइन् ।
‘नयाँदिल्लीस्थित दूतावासमार्फत पनि राईका बारेमा बुझ्ने प्रयास गरिरहेका छौं,’ उनले भनिन् । मेघालयको उक्त घटनामा हत्या गरिएका मध्ये परिचय खुलेका अर्का भारतीय नागरिक नसर डाकिया हुन् । उनी सोही राज्यमा बसोबास गर्छन् । चार जनाको हत्या भएपछि मेघालयका
एसपीको नेतृत्वमा एउटा स्पेसल अनुसन्धान टोली गठन गरिएको बताइएको छ । उक्त टोलीले हत्याको कारणबारे पत्ता लगाएर जानकारी दिनेछ । मेघालय प्रहरीका अनुसार हत्या भएका चारै जनाको घटनास्थलमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो भने उनीहरू सबैलाई धारिलो हतियारले आक्रमण गरिएको पाइएको हो ।
साथै, घटनास्थलमा भेटिएका मोबाइल फोन तथा अन्य सामग्रीलाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको प्रहरीले जनाएको छ ।मारिएका कोइलाखानीका मजदुर भएको खुलेको छ ।