मेक्सिकोमा नेपालीसमेत सवार गाडीमा गोली प्रहार, ६ को मृत्यु

4 Oct, 2024

उत्तर अमेरिकी देश मेक्सिकोको दक्षिणी क्षेत्रमा नेपालीसहित विभिन्न देशका ३३ आप्रवासी यात्रारत गाडीमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । हताहती भएका व्यक्तिहरू कुन देशका हुन् भन्नेबारे कुनै जानकारी दिइएको छैन । मेक्सिकोको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब २५ माइल (४० किमि) उत्तरमा घटना भएको हो ।

‘मेक्सिकोको रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार आप्रवासीहरू इजिप्ट, नेपाल, क्युवा, भारत र पाकिस्तानबाट आएका थिए । मृत्यु हुनेहरू कुन राष्ट्रका हुन् भनेर जानकारी दिइएको छैन,’ बिबिसीको अनलाइन संस्करणमा उल्लेख छ । घटनामा १० जना घाइते छन् ।

मेक्सिकोसँगको कूटनीतिक मामिला हेर्ने अमेरिकास्थित नेपाली कार्यवाहक राजदूत कुमार खरेलले घटनामा नेपाली रहे–नरहेकोबारे औपचारिक रूपमा जानकारी नभएको बताए । ‘हामीले घटनाबारे वासिङ्टन डिसीमा रहेको मेक्सिकोको राजदूतावास र त्यहाँको परराष्ट्र मन्त्रालयसँग जानकारी माग्न लागेका छौँ । त्यसपछि मात्रै केही यकिन होला,’ खरेलले वासिङ्टन डिसीबाट टेलिफोनमा भने ।

तीव्र गतिमा गुडिरहेको गाडीलाई मेक्सिकन सेनाले रोक्न खोजेको, तर आप्रवासीको गाडी नरोकिएपछि गोली चलाएको समाचारमा उल्लेख छ । गोली प्रहार गर्ने सैनिकहरू निलम्बनमा परेका छन् । मेक्सिकोबाट अवैध रूपमा आप्रवासीहरू अमेरिका प्रवेश गर्ने गरेका छन् । यसलाई रोक्न अमेरिकाले दबाब दिँदै आएको छ ।

गोली लागेका चारजनाको घटनास्थलमै र थप दुईजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गाडीमा सवार बाँकी १७ यात्रुलाई अध्यागमन कार्यालयमा बुझाइएको रक्षा मन्त्रालयले जनाएको छ ।

नेपालबाट अमेरिका जान ब्राजिल हुँदै लामो रुट प्रयोग हुने गरेको छ । विभिन्न बाटो हुँदै सुरुमा ब्राजिल पुग्ने गरेका नेपाली त्यसपछि पेरु, कोलम्बिया, पनामा, ग्वाटेमाला हुँदै मेक्सिको पुग्ने गरेका छन् । त्यसपछि उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेका छन् । हरेक दिन ‘क्यालिफोर्निया राज्यमा अवैध आप्रवासीहरू पुग्ने गरेका छन्, तीमध्ये कम्तीमा पनि दुईजना नेपाली हुने रहेछन्,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । केही समयदेखि मेक्सिको सरकारले आप्रवासीको आगमनमा कडाइ गर्न थालेको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024