मृतक कामदारका परिवालाई ५० लाख क्षतिपूर्ति देऊ : एनआरएन

22 Jul, 2022

वैदेशिक रोजगारीका क्रममा निधन भएका कामदारको परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिन गैरआवासीय नेपाली संघले सरकारसँग माग राखेको छ । आम्दानी गर्ने मुख्य व्यक्तिको नै निधन भएपछि परिवार चरम गरिबीमा धकेलिने भन्दै संघले क्षतिपूर्ति रकम वृद्धि गर्न सरकारलाई सुझाव दिएको हो ।

हाल वैदेशिक रोजगार बोर्डले मृत्यु भएका कामदारको परिवारलाई सहयोगबाट अधिकतम सात लाख, अन्तिम संस्कारका लागि ५० हजार र घरसम्म शव पुर्‍याइदिने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारले कल्याणकारी कोषमा भिसा अवधिअनुसार दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म भुक्तानी गर्नुपर्छ । वैदेशिक रोजगार बोर्डले कामदारको मृत्यु भएमा, अंगभंग भएमा, शव झिकाउनुपरेमा, उद्धार गर्नुपरेमा सोही रकमको प्रयोग गर्छ । तर, अहिले भुक्तानी गर्दै आइरहेको रकम धेरै कम भएको संघको भनाइ छ ।

गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली कामदारलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न आग्रह गरेको छ । कोषले हालसम्म निजी कम्पनीका श्रमिकलाई मात्रै कोषमा आबद्ध गराएको छ । तर, वैदेशिक रोजगारीमा रहेका कामदारले नेपाल सरकारको अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने भन्दै उनीहरूलाई सामाजिक सुरक्षामा जोड्न संघले अनुरोध गरेको हो । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप’ विषयक छलफल कार्यक्रममा बोल्दै संघका अध्यक्ष कुल आचार्यले कामदारलाई कुनै पनि हालतमा समाजिक सुरक्षामा जोडिनुपर्ने बताएका हुन् । वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक भएको उनले बताए ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले कामदारको सुरक्षाका लागि मन्त्रालयले हरप्रयास गर्ने बताए । कार्यक्रममा भएको छलफलपछि कामदारलाई सामाजिक सुरक्षामा जोड्न कार्यविधि बनाइने सहमति भएको छ । कार्यविधि तत्काल कार्यान्वयनका लागि एक उच्चस्तरीय संयन्त्रमार्फत आवश्यक प्रक्रियाहरू अघि बढाउनका लागि संघ र सामाजिक सुरक्षा कोषबीच सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । तत्काल सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपालीलाई समेट्नका लागि कानुनी आधार तय गर्न उच्चस्तरीय राजनीतिक र प्रशासनिक तहमा लबिङ गर्न संघले प्रतिबद्धता जनाएको छ ।

सामूहिक रूपमा नेपालमा लगानी गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामूहिक रूपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आह्वान गरेका छन् ।गैरआवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कलेक्टिभ रूपमा नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा सञ्चितिमा संकुचन देखिएको बताउँदै यो नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको समेत उनले बताए ।

‘मुलुक अहिले वैदेशिक मुद्रा सञ्चितिको चापबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईंलाई यो उपयुक्त अवसर हो,’ उनले भने, ‘प्रत्येक मुलुकको वा सहरको समूह बनाई कलेक्टिभ रूपमा ठूला–ठूला आयोजनाहरूमा लगानी विस्तार गर्नुहोस्, तपाईंले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ ।’ उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान महासंघको तर्फबाट पहल गर्नेसमेत उनले बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024