मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकममा उच्च वृद्धि

7 Feb, 2024

चालु आर्थिक वर्षको छ महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ७३ अर्बले धेरै भएको छ।

मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानीलगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो। यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ।

अघिल्लो वर्षको असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो। रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ।

यसको अनुपातमा आयातमा भइरहेको कमीले पनि भुक्तानी सन्तुलन देखिएको हो।

आयात घटेको कारण मुलुकको चालु खाता पनि एक खर्ब ६१ अर्ब रूपैयाँ नाफामा देखिएको छ। वार्षिक रूपमा भने यस्तो खाता आर्थिक वर्ष २०७३/७४ देखि नोक्सानमा रहँदै आएको छ।

चालु आर्थिक वर्षको अन्त्यसम्म पनि यो खाता नाफामा देखिने सम्भावना रहेको राष्ट्र बैंकले बताएको छ। चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ।

चालु आर्थिक वर्षको छ महिनामा आयात ३.१ प्रतिशतले घटेर सात खर्ब ६८ अर्ब रूपैयाँमा सीमित भएको छ।

सात खर्ब २६ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ। पर्यटकबाट भएको आम्दानी ४४.४ प्रतिशतले बढेर ३९ अर्ब ५५ करोड रूपैयाँ आम्दानी भएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024