काठमाडौँ — मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका एक नेपाली कुवेतबाट पक्राउ परेका छन् । इन्टरपोलको खोजी सूचीमा रहेका धनुषा जनकनन्दनी गाउँपालिका–४ स्थायी घर भएका दिलीप राउतलाई कुवेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई मंगलबार नै नेपाल ल्याइएको छ ।
नेपाल प्रहरीले राउतको खोजीका लागि इन्टरपोललाई पत्राचार गरेको थियो । राउत कुवेतमा लुकेर बसेको आशंकामा प्रहरीले उनको खोजी गर्न कुवेत प्रहरीलाई पनि अनुरोध गरेको थियो । प्रहरी प्रधान कार्यालयले राउत कुवेत प्रहरीको समन्वयमा पक्राउ परेको र उनलाई कारबाहीका लागि नेपाल ल्याइएको जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनीविरुद्ध २०८१ असोज १८ मा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार राउतलाई नेपाल ल्याएलगत्तै थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (बबरमहल) को जिम्मा लगाइएको छ ।
वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरी खोजी सूचीमा राखिएका सिन्धुपाल्चोक र उदयपुरका दुई जनालाई पनि कात्तिक १८ र कात्तिक १ मा कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । वैदेशिक रोजगारी ठगीको मुद्दामा फरार भई इन्टरपोलको खोजी सूचीमा रहेका सिन्धुपाल्चोक माङ्खाकी बिनु शाक्य र उदयपुरको त्रियुगाका सुजन आचार्यलाई कम्बोडियामा पक्राउ गरी थप अनुसन्धानका लागि नेपाल ल्याइएको थियो । शाक्यलाई सोमबार र आचार्यलाई गएको कात्तिक ८ मा नेपाल ल्याइएको थियो ।
आचार्य र शाक्यले वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोग छ । विभिन्न अपराधमा संलग्न रही भागेर विदेश पुगेका व्यक्तिको खोजी एवं पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत समन्वय गर्दै आएको छ । त्यस क्रममा यी तीनै जनालाई विदेशमा पक्राउ परी नेपाल ल्याइएको हो ।