मानव बेचबिखन नियन्त्रणमा नेपाल र भारतका सरोकारवाला सहमत

29 Dec, 2023

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न नेपाल र भारतका सरोकारवाला निकाय सहमत भएका छन्। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण एक्लो प्रयासबाट मात्र सम्भव नभएको उनीहरूको निस्कर्ष छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न दुवै देशका सरकारी र गैरसरकारी निकायको समन्वय र सहकार्य आवश्यक रहेको उनीहरूले जोड दिए।

जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्कीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्नका लागि दुई देशबीच सहकार्य आवश्यक रहेको बताइन्।

‘नेपालबाट भारत पुगेका थुप्रै नेपाली चेलीबेटीको उद्धार गरेर फर्काउनमा भारतका सरकारी र गैरसरकारी निकायको सहयोग अविस्मरणीय छ,’ उनले भनिन्, ‘दुई देशबीच समन्वय हुन जरुरी छ, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न मिलेर काम गर्नुपर्छ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले मानव बेचबिखन तथा ओसार पसारको अवस्था विश्वव्यापी रूपमा फैलिरहेको बताए। यसलाई नियन्त्रण गर्न संयुक्त रूपमा काम गर्नुपर्ने बताए। सरकारी र गैरसरकारी निकायको साझा प्रयासले मात्र यो सम्भव हुने प्रजिअ पोखरेलको भनाइ छ।

भारतका अधिकारकर्मी एवं अधिवक्ता प्रवीण पाठक, बाल अधिकार संरक्षण भारत दिल्लीका बरुण पाठक, अपराध अनुसन्धान दिल्ली पुलिसका (पूर्वएसिपी) सुरेन्द्रकुमार गोलियालगायतले जोखिमपूर्ण काम गर्न पुगेका र यौन शोषणमा परेका नेपाली चेलीको उद्धारमा आफूहरूले सक्दो रूपले समन्वय र सहकार्य गरेको बताए। नेपाल र भारतका सरकारी तथा गैरसरकारी निकायको संयुक्त प्रयासले मात्र पीडितको उद्धार गर्न सम्भव हुने उनीहरूले जोड दिए।

पछिल्लो समयमा भारत मात्र नभएर तेस्रो मुलुकमा पनि मानव बेचबिखन तथा ओसार पसारका घटनामा वृद्धि भइरहेको सम्बद्ध सरोकारवालाले बताएका छन्। रोजगारी, अध्ययन र सांगितिक कार्यक्रमका लागि गएकाहरू श्रम र यौन शोषणमा पर्ने गरेको उनीहरूको भनाई छ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति बाँकेले गरेको कार्यशालामा माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले श्रम शोषण र यौन शोषणमा परेका महिला, किशोरी तथा बालबालिकालाई भारतबाट उद्धार गरेर ल्याइरहेको जानकारी दिए। दुवै देशका उद्धार संयन्त्र बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024