२४ वैशाख, काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्षे नुर्बु स्याङ्बो घले हिरासतमुक्त भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छाड्ने निर्णय गरेपछि हिरासतबाट मुक्त गरेको नेपाल प्रहरीकव मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी ओमबहादुर रानाले बताए ।
मानव बेचबिखनको आरोपमा फरार रहेकाहरुलाई खोजी गर्ने क्रममा उनलाई ब्यूरोले २८ चैतमा पक्राउ गरेको थियो । रानाका अनुसार, घलेविरुद्ध २०७३ सालमै मुद्दा दर्ता भइसकेको थियो । ‘तर, अनुसन्धान नभई पेन्डिङ रहेको अवस्थामा पक्राउ गरेर छानबिन थालेका थियौं’, उनले भने ।
प्रहरीका अनुसार, घलेसहितको समूहले आर्थिक अवस्था कमजोर भएकी पीडितलाई कुवेतमा मासिक २८ हजार रुपैयाँ तलब दिने काममा लगाइदिने भन्दै मिलेमतोमा भारतको नयाँदिल्लीमा पुर्याएको थियो । त्यहाँबाट भिजिट भिसामा श्रीलंकाको कोलम्बोसम्म पुर्याएर पीडितलाई कुटपिट गरेर बन्धक बनाएर राखेको अनुसन्धानबाट खुलेको थियो ।