मानव तस्करी रोक्न श्रममन्त्री अर्याललाई गैरआवासीय नेपालीको आग्रह

20 Jan, 2023

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालसँग भेट गरेको छ।

भेटका क्रममा उनीहरूले वैदेशिक रोजगारीको बहानामा पछिल्लो समय युरोपेली देशहरुमा बढ्दै गएको मानव तस्करी अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।

संघका प्रतिनिधिहरुले मन्त्री अर्याललाई टर्की, पूर्वी युरोपका बुलगेरिया, क्रोएसिया, हंगेरी, रोमानिया,स्लोभाकिया लगायत मुलुकमा बढ्दो मानव तस्करीबारे जानकारी गराउँदै त्यसलाई रोक्न तत्काल पहल नगरे भयावह अवस्था निम्तिन सक्ने भन्दै ध्यानाकर्षण गराएका हुन्।

संघकी कार्यकारी अध्यक्ष रबिना थापासहित संघका दुई अध्यक्ष डा. बद्री केसी र कुल आचार्यले विभिन्न प्रलोभन देखाएका नेपालका श्रमिकलाई बिना कुनै सीप र अभिमुखीकरण युरोप पुर्याउने प्रलोभन देखाएर मानव तस्करी भइरहेको बताए।

उनीहरूले टर्कीमा पछिल्लो समय नेपालीले नेपालीलाई नै फिरौतीका लागि अपहरण गर्ने, ज्यान मार्ने धम्की दिने र डराउने लगायतका आपराधिक गतिविधि समेत गरिरहेको बताए। त्यसतर्फ सरकारले ध्यान दिई तत्काल प्रक्रियागत रूपमा समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिए।

अवैधानिक रुपमा युरोप छिर्न खोज्दा कयौँ नेपालीको ज्यान जाने गरेको उनीहरूको भनाई छ। टर्की लगायतका कतिपय देशमा राजदूतावास र कन्सुलर सेवा समेत नहुँदा त्यहाँका नेपालीहरूले ठूलो समस्या भोग्नुपरेकाले समस्या समाधानमा ध्यान दिनुपर्ने तर्क उनीहरूको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024