मानव तस्करीको नयाँ रुट : बंगलादेश-काठमाडौं-युरोप

19 May, 2025

पर्वत पोर्तेल

विराटनगर — बंगलादेशी नागरिकहरू नेपाल प्रवेश गर्ने प्रमुख मार्ग पूर्वी नाका काँकडभिट्टा–पानीटंकी हो, चाहे त्यो वैधानिक होस् वा अवैधानिक । कोरोना महामारीपछि यो नाकामा निगरानी कडाइ गरिएको छ । ‘आईडी भेरिफिकेसन’ अनिवार्य बनाइएको छ ।

भारत-पाकिस्तानबीचको पछिल्लो तनावपछि झनै कडाइ गरिएको छ । करिब तीन वर्षसम्म भारतले यो नाकाबाट नेपाल जान चाहने बंगलादेशी नागरिकसहित तेस्रो मुलुकका पर्यटकहरूलाई मार्ग खुला गरेको थिएन । हाल त्यो अवस्था हटेको छ ।

तर, बंगलादेशी नागरिकका हकमा भने भारतले अझै ‘एक्जिट’ दिन मानेको छैन । विशेषगरी शेख हसिनाको सत्ता पतनपछि भारतले बंगलादेशी नागरिकको प्रवेशमा थप कडाइ गरेको देखिन्छ । यस्तो कडाइका बाबजुद पनि केही बंगलादेशीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने प्रयासमा छन् । उनीहरूको उद्देश्य भारतको बाटो प्रयोग गरेर नेपाल छिर्ने हो ।

झन्डै दुई साता अघि नेपाल छिर्न खोजिरहेका एक बंगलादेशी नागरिकलाई सीमावर्ती भारतीय क्षेत्र खोरीबारीको प्रहरीले पक्राउ गरेको थियो । अहिले उनी प्रहरी हिरासतमा छन् । अक्सर बंगलादेशी नागरिकहरू नेपाल प्रवेश गर्ने प्रयासमा सीमामा पक्राउ पर्ने गरेका छन् । तर, गएको बुधबार एक फरक र अनौठो घटना घट्यो । भारतको पानीटंकी नाकाबाट एक बंगलादेशी नागरिक पक्राउ परे । तर, यो पटक उनी भारतबाट नेपाल जान लागेका थिएनन्, बरु नेपालबाट भारत प्रवेश गरेका थिए ।

बंगलादेशी नागरिकको यस्तो ‘उल्टो रुट’ देखेर भारतीय सुरक्षाकर्मीहरू पनि अचम्मित बने । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का एक अधिकारीले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै भने, ‘नेपालको बाटो भएर बंगलादेशी नागरिक अवैध रूपमा भारत प्रवेश गरेको घटनाले हामीलाई पनि गम्भीर बनाएको छ ।’ पक्राउ परेका व्यक्ति बंगलादेशको नाटोर जिल्लाका २६ वर्षी हृदायत खान थिए । उनी एक भारतीय दलालको सहयोगमा मेची तरेर भारत पुगेका थिए ।

बंगलादेशीहरू सामान्यतया हेर्दा भारतीय बंगालीजस्तै देखिन्छन् । उनीहरूको रूप, रङ र भाषा बंगालीहरूसँग मिल्ने भएकाले पहिचान गर्न कठिन हुने सुरक्षा निकायहरू बताउँछन् । खासमा हृदायत खान एउटा मानव तस्करको जालमा परेका थिए । काठमाडौंमा लुटिएपछि उनी भारत हुँदै बंगलादेश फर्किने प्रयासमा थिए । उनका साथमा न पैसा थियो, न त पासपोर्ट नै ।

भारतीय सुरक्षाकर्मीलाई दिएको बयानमा उनले भनेका छन्, ‘सर्बिया जान भनेर एक वर्षअघि हवाई मार्गवाट काठमाडौं पुगेको थिएँ । तर, लामो समय बित्दासमेत उडान भएन । उल्टै पासपोर्ट र पैसा दुवै लुटिए ।’ उनी काठमाडौंको लाजिम्पाटस्थित यशिन होटलमा बसोबास गरिरहेका थिए । सोही होटलमा झन्डै दुई दर्जनजति अन्य बंगलादेशी नागरिकहरू पनि थिए, उनी जस्तै सर्बियालगायत युरोपेली देश उड्ने जान सपना साँचेर बसेका थिए । केही समयअघि सर्बिया बंगलादेशी नागरिकहरूका लागि भिसारहित गन्तव्य बनेको थियो । त्यसैले नेपाललाई ‘ट्रान्जिट’ बनाउँदै उनीहरू सर्बियासहित युरोपका विभिन्न मुलुकतर्फ जान काठमाडौं आइपुगेका थिए ।

काठमाडौंमा बस्ने मोहम्मद इस्मान नामका एक बंगलादेशी दलालमार्फत उनी सर्बिया जाने तयारीसहित घरबाट बिदा मागेर निस्किएका थिए । तर, लामो समयसम्म विभिन्न बहाना बनाउँदै उनलाई सर्बिया पठाइएन । यसैबीच उनको सवै पैसा सकियो । पासपोर्ट पनि खोसियो ।

आर्थिक अभावका कारण सर्बिया जान असमर्थ भएका खान अन्ततः भारत फर्कने निर्णयमा पुगे । उनी एक भारतीय एजेन्टको सहयोगमा भारत छिरेका मात्रै केही थिए, एसएसबीले पानीटंकी बस स्टपनजिकै उनलाई नियन्त्रणमा लियो ।

मानव तस्करीको वैकल्पिक मार्ग बन्दै नेपाल

पछिल्लो समय दक्षिण एसियाली मुलुकहरूबाट युरोप जान चाहने गैरकानुनी आप्रवासीका लागि नेपाल एक सुरक्षित ‘ट्रान्जिट’ बन्दै गएको सुरक्षा निकायहरूले जनाएका छन् ।

विशेषगरी बंगलादेश, पाकिस्तान र अफगानिस्तानका नागरिकहरू नेपाल प्रवेश गरेर तेस्रो मुलुक जान खोज्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ । प्रहरीका अनुसार नेपालमा रहेका विदेशी नागरिकहरूले स्थानीय एजेन्ट तथा केही होटल सञ्चालकहरूको मिलेमतोमा राहदानी तथा नक्कली कागजात बनाएर युरोप छिर्ने प्रयास गरिरहेका छन् । गत असोज महिनाको एउटा घटना उदाहरणीय छ, क्रोएसिया जान काठमाडौं आएका १५ जना बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

भारतस्थित क्रोएसियाली दूतावासमार्फत भिसा प्रक्रिया पूरा गरी गन्तव्यमा पुग्नचाहिँ उनीहरूले नेपाललाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्ने गरेका छन् । यस्तो यात्राका लागि उनीहरूले एजेन्टमार्फत ठूलो रकम तिरेर नेपाल आउने गरेका छन् । काठमाडौंमा बसेर भिसा प्रक्रिया मिलाउने र त्यसपछि युरोप उड्ने उनीहरुको उद्देश्य देखिन्छ ।

गत साउनमा पोल्यान्ड पठाउने प्रलोभन देखाएर बंगलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने गिरोहलाई काठमाडौमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा इलामकी रोशनी राई, सिन्धुपाल्चोककी तारा नेपालीसहित बंगलादेशका नागरिक अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मियाँ, जहागिर आलम र ताहमिना बेगम थिए ।

प्रहरी अनुसन्धानका अनुसार उक्त गिरोहले २१ जना बंगलादेशी नागरिकसँग प्रतिव्यक्ति ५० हजारदेखि १० लाख टाकासम्म असुली गरेको थियो । अघिल्लो महिना युरोपका विभिन्न देश पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई नेपाल ल्याई ठगी गरेको आरोपमा पाँच जना बंगलादेशी नागरिक काठमाडौंमै पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा ५० वर्षीय मोहम्मद मुस्ताफिजुर रहमान, ४१ वर्षीय मोहम्मद फर्साद हुसैन चौधरी, ४६ वर्षीय अबु युसुफ एमडी हान्सिफ, र ४० वर्षीय अजिम मोलिक रहेका छन् । प्रहरीका अनुसार उनीहरूले अस्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्बिया, अल्बानिया लगायतका देश पठाइदिने लोभ देखाएर बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाइ ठगी गर्दै आएका थिए ।

त्यही गिरोहको जालमा परेका थिए मोहम्मद हृदायत खान पनि । सर्बिया पुग्ने उनको सपना अन्ततः भारतीय जेलमा पुगेर रोकिएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024