महिला तस्करी, अनुराधा र खड्गबहादुर

1 Feb, 2022

महेन्द्र पी‍. लामा 

लगभग सय वर्षअघिको अखिल भारतीय गोर्खा लिगको कलकत्ता प्रशाखाका मूल मन्त्री खड्गबहादुर सिंह विष्ट र आजको काठमाडौंस्थित अनुराधा कोइरालाको नेतृत्वमा रहेको माइती नेपाललाई एउटै मञ्चमा उभ्याएर देह व्यापारका निम्ति गरिने नेपाली महिलाहरूको तस्करीबारे सोधे सायद एउटै जवाफ पाउँछौं । महिला तस्करी बजार व्यवस्थाको एउटा अभिन्न अंग हो ।

बजारमा झैं माग र आपूर्ति (डिमान्ड–सप्लाई) को एउटा समागम हो । डिमान्ड छ र नै सप्लाई हुन्छ अनि बजार व्यवस्था कायम रहन्छ । अर्कातिर, अर्थशास्त्रमा सेजको नियम भनेझैं सप्लाई पहिलो कुरो हो, डिमान्ड स्वतः हुन्छ । बजार व्यवस्था नै मूल्य र मुनाफामा आधारित भएको हुनाले जुन वस्तु बजारमा ल्याउँदा मूल्य–मुनाफा हुन्छ, त्यही वस्तुमाथि व्यापार–वाणिज्य अघि बढ्छ । वस्तु केही–कुनै पनि हुन सक्छ— डाइजेस्टिभ बिस्कुट, अमूलको मक्खन, सामसुङको फ्रिज, फ्रान्सको राफेल हवाईजहाज, कोभिडको खोप र सिंगल माल्ट ह्विस्की । यी सबै पुँजीपतिहरूले कारखानामा बनाउँछन् र बजारमा ल्याउँछन्, जनता–जनार्दन उपभोक्ताको कल्याण–सन्तुष्टि–आपूर्तिका निम्ति । तर यी सबै सामान–वस्तुहरू निष्प्राण हुन्छन्, मुस्कान र आत्मा हुँदैन र बोल्न सक्तैनन्, पीडा–चीत्काररहित हुन्छन् ।

देह व्यापारका निम्ति महिलाहरूको तस्करी र मूल्य–मुनाफाका निम्ति मात्रै वस्तु उत्पादन गर्ने कारखानाहरूबीच भिन्नता यही छ । एउटाले निर्जीव वस्तुहरू बेच्छ र अर्कोले जीवित । तथापि बजार व्यवस्थासँग मेल खाने काम भने दुवैले गर्छन् । अर्कातिर, प्राण भएको व्यक्तिले निष्प्राण ओप्पो मोबाइल र हुन्डाई गाडी निर्माण गर्छ, उतापट्टि फेरि प्राण भएको व्यक्तिलाई निष्प्राण बनाउन बजारमा घुसाउँछ । बजार व्यवस्था हुँदाहुँदै, चीजबीजको किनबेच हुँदाहुँदै अनि डिमान्ड र सप्लाईको खेल रहँदारहँदै, महिला–बालिकाहरूलाई बजार व्यवस्थाको वस्तु बन्न नदिन कोसौं दूर आपूर्तिका केन्द्रहरू नै भत्काउने प्रयास गर्छन् अनुराधा र खड्गबहादुरहरू । कारण, महिला तस्करी र देह व्यापारको जड नै गरिबी–असाक्षरता र अनभिज्ञतामा मुछिएको परिस्थिति हुन् । यसको मुटु नै आफ्नै राष्ट्रले लाजै नमानी अविकसित राखेका परिवार, समुदाय र गाउँघर हुन् । र यसको आत्मा नै सत्ता–सरकार–राज्यले बनाएको निन्दनीय प्रथा र प्रणाली हुन् ।

सन् १९२० को दशकमा कलकत्तामा भएको घटनाक्रम र त्यसको सय वर्षपछि सन् २०२० को दशकमा हुँदै गइरहेको उत्पीडनले नेपाली महिलाहरूको तस्करीलाई सीधै जोड्छ अनि सबैमा फेरि करुणा र केही गर्न नसकेको बोधको डढेलो लाग्छ । अनुराधा र खड्गबहादुरको समाज–जाति–राष्ट्रप्रतिको झुकाव र योगदानका कथाहरू उल्लेखनीय र अद्वितीय नै छन् ।

अप्रिल १९२६ मा कलकत्तामा गोर्खा कल्याण संघले चितपुर रोडको आफ्नो कार्यालयमा भारतको स्वतन्त्रता संग्राममा केही आर्थिक दान जुटाउन एउटा समारोह गरेको थियो । तिनताक खड्गबहादुर भर्खरै बीकममाथि कलेजको डिग्री हासिल गरेर स्वतन्त्रता संग्राममा होमिएका थिए । त्यस दिन संघको सभामा गइरहेको समय एउटा अग्लो बिल्डिङबाट कसैले तलतिर एउटा कागज–चिठी फ्याँकेपछि उनले उकालो हेर्दा एउटी महिलाले त्यो चिठी पढ्न भनी इसारा गरिन् । उनले हतारसाथ पत्र खोलेर पढे । त्यहाँ लेखिएको थियो— पद्मप्रसाद भनिने बनारसमा बस्ने एक नेपालीले ती अठार वर्षीया राजकुमारी मैयालाई झुठो आश्वासन दिएर कलकत्ता ल्याई व्यापारी हीरालाललाई बेचेछन् । हीरालालले राजकुमारीलाई आफ्नै घरमा देह व्यापारमा राखेको रहेछ । खड्गबहादुरलाई यस पत्रले अवाक्–भावुक मात्रै नबनाएर, उनलाई कैयौं नेपाली महिलालाई तस्करी गरी बनारस हुँदै कसरी कलकत्ता पुर्‍याइँदो रहेछ भन्ने कुराले घोच्न थाल्यो । राजकुमारीलाई हीरालालबाट कसरी मुक्ति दिलाउने र खोसेर घर पुर्‍याइदिने भन्नेतिर उनले सोच्न लागे । अन्तमा उनले तय गरे— तस्करीको यो घीनलाग्दो शृंखला र रोगलाई स्वाहा पार्न हीरालालको हत्या गर्नैपर्छ ।

केही दिनपश्चात् खड्गबहादुर अर्कै पहिरन लगाई धारिलो खुकुरी बोकेर हीरालालको घर पुगे । कुरा कोट्याउनलाई र सच्चाइ बुझ्नलाई उनले हीरालाललाई भने, ‘मलाई बनारसबाट पद्मप्रसादले पठाएका हुन् ।’ यति भन्दा नै हीरालालले उनलाई घरभित्र पसायो र आफ्नो भव्य बैठककोठामा बसायो । हीरालाललाई देखेर उनी तीनछक परे । चाउरी परिसकेको वृद्ध, केश रंगाएको र सिरानीमा अडेस लागेर कुराकानी गर्ने । उनले अझै कुरा बुझ्न भने, ‘पद्मप्रसादले सोह्र–सत्र वर्षका दुई ठिटीहरूलाई बनारस ल्याएका छन् । तर तपाईंकोमा पुर्‍याउनलाई अलिक निकै पैसा चाहिन्छ भन्दै छन् । उनले तपाईंलाई बनारस आउन भन्नका लागि मलाई यहाँ पठाएका हुन् ।’ हीरालालले गदगद हुँदै भन्यो, ‘मैले राजकुमारीलाई पाउन त्यति धेरै रकम दिएको थिएँ तर यसलाई मैले कज्याउनै सकेको छैन, अहिलेसम्म पनि ।’ खड्गबहादुरलाई यही कुरो टुंगो गर्नु थियो । अनि त्यति नै बेला उनले धारिलो–चम्किलो खुकुरीले हीरालालको हत्या गरिदिए । त्यसपछि पद्मप्रसादलाई पनि मार्छु भन्दै उनी बनारस जान लाग्दा मन फर्काएर नजिकैको लालबजार पुलिस थानामा गए र मैले यसो गरें भन्दै आफूलाई सुम्पिए ।

अर्को दिन हीरालालको हत्याबारे समाचार चारैतिरका खबरकागजको शीर्ष स्थानमा छापियो । भय र त्रासले हीरालालजस्तै अन्य धेरैले शारीरिक मज्जाका निम्ति राखेका कैयौं नेपाली महिलालाई मुक्ति दिए । खड्गबहादुर सिंह विष्टलाई रिहा गरिनुपर्छ भन्दै कलकत्ता महानगरीभित्र भयानक रूपमा विरोध प्रदर्शन सुरु भयो । कसैले रिहाइका निम्ति पैसा–धन बटुल्न थाले, कसैले न्यायाधीशलाई पत्र लेखे । न्यायालयमा उभ्याइएका खड्गबहादुरले भने, ‘मैले केही भूल गरेकै छैन, कानुनमुताबिक वा नैतिक आधारमा । मैले हीरालालको हत्या गरेको हुँ । तर यदि मेरो दायित्व यस्तो घटना देख्दा पनि चुप लागेर बस्नु हो, आफ्नै चेलीबेटीको पीडा–दुःखमा मौन धारण गर्नु हो भने अनि यदि म समाजका निम्ति हीरालाल र त्यस्तै दुष्टहरूभन्दा अझै खतरनाक छु भने मलाई सजाय दिनुहोस् ।’ तर न्यायाधीश ग्रेगोरीले आठ वर्षको सजाय घोषणा गरे । उनलाई कारावासमा थुनियो । व्यापक विरोध सुरु भयो ।

यसैबीच अखिल भारतीय गोर्खा लिगका अध्यक्ष र देहरादूनबाट निस्कने अंग्रेजी पत्रिका ‘हिमालय टाइम्स’ अनि नेपाली पत्रिकाहरू ‘गोर्खा संसार’ र ‘तरुण गोर्खा’ का सम्पादक ठाकुर चन्दन सिंहले यस सजायका विरुद्ध युद्ध नै छेडे । भारतभरि नै विरोधको आवाज उठाउँदै ठाकुर चन्दन सिंह — जो भारतीय स्वतन्त्रता संग्राममा अहम् भूमिका निभाउँदै थिए — ले चारैतिर सभा–जुलुसहरू गर्न थाले । आइतबार २७ मार्च १९२७ मा उनले कलकत्ताको अल्बर्ट भवनमा ठूलो सभा गरे र तिनताकका नेताहरू सुवासचन्द्र बोस, बीसी रोय, सरोजिनी नायडु, मोतीलाल नेहरू, वीर सावरकर, महात्मा गान्धी, पण्डित नेहरू आदिलाई खड्गबहादुरको रिहाइको अपिल गरे । भनिन्छ, कलकत्ताको त्यस दिनको जुलुसमा एक लाख मानिसले भाग लिएका थिए । ठाकुर चन्दन सिंहले अति नै मन छुने भाषण दिएका थिए । भाषणमा उनले खड्गबहादुरलाई दिएको सजाय अति नै कडा एवं भर्त्सनायोग्य हो भन्दै दुष्टहरूको विरोधमा लड्ने समाजसेवक र देशभक्तहरूलाई नियम–कानुनले छुट्याउन सक्नुपर्छ भने । सभामा गोर्खा, बंगाली, युरोपेली जाति सबैले बोले र सजायको निन्दा गरे । विपिनचन्द्र पालले सभाको अन्ततिर प्रस्ताव पढी सुनाए, जसमा त्यसताकका राज्यपाललाई खड्गबहादुरलाई रिहाइ गर्ने अपिल गरिएको थियो । कलकत्ताका अखबारहरूले सम्पादकीयहरू पनि लेखे । नभन्दै दुई वर्ष बाह्र दिन कारावासमा बसेपछि खड्गबहादुरलाई ३१ मार्च १९३० मा रिहा गरियो, सधैंका लागि । उनले अब सबै महिलालाई आफ्नै दिदी–बहिनी सम्झँदै र मान्दै जीवनभरि विवाह गर्नेछैन भन्ने प्रण गरे । र उनकै अभिन्न साथी खरसाङका नारायण प्रधानले ती राजकुमारीलाई २४ अप्रिल १९३० मा विवाह गरे ।

महिलालाई तस्करी गरेर देह व्यापारमा हाल्ने दलाल गिरोहका निम्ति एउटा सग्लो धक्का थियो यो । स्वतन्त्रता संग्राममा होमिएका सम्पूर्ण भारत–कलकत्तावासीहरूका निम्ति ब्रिटिस साम्राज्यको विरोधमा एउटा नौलो सामाजिक लडाइँ थियो यो । ठाकुर चन्दन सिंहले आफ्नो राष्ट्र भारतका निम्ति र नेपालमा राणा शासनको विरोधमा गरेका कतिपय प्रयत्नबारे मैले दिल्लीस्थित साहित्य अकादमीद्वारा प्रकाशित पुस्तक ‘ठाकुर चन्दन सिंह’ मा विस्तृत रूपमा जानकारी दिएको छु । सन् १९९७ मा अकादमीको प्रतिष्ठित साहित्य शृंखला ‘मेकर्स अफ इन्डियन लिटरेचर’ अन्तर्गत प्रकाशित यस पुस्तकमा जी छिरिङले लेखेको लेख ‘वीर खड्गबहादुर सिंह विष्ट’ (‘हाम्रो संसार,’ कलकत्ता, अक्टोबर–नोभेम्बर १९६१) र हिमाचल प्रदेशको धर्मशालास्थित भाग्सुको श्याम नगरका मगन पथिकको सन् १९८७ मा छापिएको पुस्तकको सन्दर्भ पनि चलाइएको छ ।

सन् २०१० मा सिक्किम विश्वविद्यालयको ‘विश्व व्याख्यान शृंखला’ मा महिलाहरूको तस्करीबारे बोल्न विश्वप्रसिद्ध संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई गान्तोकमा निम्त्याइएको थियो । गान्तोकको चिन्तन भवन विद्यार्थी–शिक्षक–अतिथिहरूको भीडले खचाखच थियो । पहिले त सबैले मानेकी, तस्करी विरोधकी योद्धालाई हेर्न अनि फेरि के भन्छिन् भनी सुन्न पनि । अनुराधाले देह व्यापार गर्नलाई किन, कहाँ, कसरी महिलाहरूको तस्करी गरिन्छ, कसले तस्करी गर्छ, भारत–नेपालको सिमाना कसरी पार गराइन्छ, यता नेपालमा उता भारतमा दलालहरूको गिरोहबीच के–कस्तो सम्बन्ध हुन्छ र कुन मार्ग अपनाएर यी अबोध महिला–बालिकाहरूलाई दिल्लीको जीबी रोड, कलकत्ताको सोनागाछी, सिलिगुडीको खालपाडा, बम्बईको कामठीपुरा र अन्य धेरै सहर–नगरमा पुर्‍याइन्छ भन्ने कुरा अति नै मर्मस्पर्शी ढंगमा राखिन् । चिन्तन भवन सुनसान थियो, उनले अब के भन्छिन् भनेर । बिस्तारै वर्णन गर्दै उनी अघि बढिरहिन् ।

वेश्यालयको कोठाबाहिर र भित्र के हुन्छ, कसरी महिला–बालिकाहरूलाई कुखुरा–बाख्राझैं खाँदेर राखिन्छ, वेश्यावृत्तिमा अघि बढ्नै नमान्नेहरूका शरीरका विशेष अंगहरू कसरी जलाइन्छन्–पोलिन्छन्, शारीरिक यातनाको टुप्पोमा सम्भोगका कुरूपहरू कसरी अघि ल्याइन्छन् भन्दै दृश्यहरू आँखाअघि देखाइदिएपछि प्रायः सबै सुँकसुँक गर्दै रोएका थिए । त्यति मात्रै कहाँ हो र, महिला–बालिकालाई कसरी फकाइन्छ, भगाइन्छ र वेश्यालयमा पुर्‍याइन्छ भन्नेसम्मका कारुणिक दृश्यहरूसमेत देखाइए ! कहिल्यै सहर नदेखेका, कहिल्यै राम्रो नखाएका र लुगाफाटा नलगाएका, गरिबीले आमाको गर्भमै थिचेका, जन्मेपछि फेरि गरिबीको ओखलीमा पिसिएका, केही खान–लाउन पाउँछु कि, आफ्नो परिवारलाई गरिबी–पीरमर्काको आगोबाट निकाल्न सक्छु कि भन्ने सपना देख्ने यी महिला–बालिकाहरू तस्कर–दलालहरूको जालमा कसरी फस्छन् भन्दै अनुराधाले अविरल ढंगमा सुनाएको दर्दनाक कथा सुन्नेहरूले आफू नै दलालको जालमा फसेको अनुभव पनि गरेका थिए ।

अनुराधाले वेश्यालय र सर्कसदेखि टाढा दुबई, अफ्रिका, अमेरिका, थाइल्यान्डमा पनि नेपाली महिलाहरूको तस्करी कसरी हुँदै छ, कसरी कतिका किड्नीसम्म बेचिँदै छन् र कसरी श्रीलंकाको कोलोम्बो, भारतको मणिपुर र बंगलादेशको चटगाउँजस्ता तस्करीका नयाँ मार्गहरू खोलिएका छन् भन्ने भयानक प्रवृत्तिहरूबारे समेत जानकारी दिइन् । अनुराधाको डेढ घण्टाको वार्ताले विद्यार्थी–शिक्षकहरूमा आगो नै बाल्यो । धेरैले अनुराधाको बाटो र पेसा अपनाए, अनि धेरैले यस विषयमा अध्ययन गर्दै डाक्टरेट डिग्रीसमेत पाउँदै छन् । सभाको अन्तमा, विश्वविद्यालयको कुलपति भएकाले मैले बोल्नैपर्ने थियो । दार्जिलिङ तलतिरको जिङलाम चिया कमानमा भारतीय सेनाको एउटा प्रतिष्ठित परिवारमा जन्मेकी अनुराधाका पिता–मातालाई फुटबल खेल हेर्दा सदैव देखेको र उनकै दाइ अभय गुरुङ फुटबलमा हाम्रो आदर्श नै भएको कुरो बताउँदै आँखा रसाएका श्रोता वर्गलाई अर्को दिशातिर लैजाने कोसिस गर्दै थिएँ, अचानक मभित्रको ‘म’ ले अघिका दृश्यहरू आँखाअघि ल्याएपछि मैले पनि उभिईउभिई आँसु झारेको थिएँ । र नै हाम्रो हिउँदे यात्रा कार्यक्रममा मानव तस्करीबारे एउटा विशेष प्रोजेक्ट सुरु गर्‍यौं ।

पछि, एक दिन अनुराधा कोइरालासँग फेरि भेट भयो । आङ जिरिङ्ङ भयो । सन् १९८० मा दिल्लीमा मदर टेरेजालाई भेट्दाझैं नतमस्तक भएँ । उनीमाथि मैले ‘विश्वशान्तिको छहारीमा’ शीर्षक पुस्तक लेखेको थिएँ । मैले पुस्तक प्रदान गर्दा मदरले चिसो कठ्यांग्रिएको हात मेरो शिरमा राख्दा शरीर नै न्यानोपनले बलेको थियो । अनुराधाले यस भेटघाटमा सुनाएको तस्करीमा लागेका नेपालका एक दलालले कसरी सुध्रिएर डाक्टरेट डिग्री हासिल गरे र आफ्नी श्रीमतीलाई मन्त्रीसमेत बनाए भन्ने घटनाले मलाई खड्गबहादुर सिंह विष्टको याद दिलायो । अनुराधाले बम्बईबाट ती दलाललाई पक्रेर काठमाडौं पुर्‍याउँदा उनको नग्न शरीर–अंग ढाक्न तौलिया–गम्छा बेर्नुपरेको थियो रे ! न्यायालयले कैयौं वर्षका लागि कारावासमा पठाएपछि अनुराधालाई उनले बिन्ती गरेका थिए रे, ‘म झ्यालखानाभित्रबाटै शिक्षा हासिल गर्छु ।’ अनुराधाले आफ्नै खर्चमा उनलाई पीएचडीसम्म गराइन् । जेलबाट छुटेपछि उनले कारावास सुधारको एनजीओ पनि खोले र पछि एउटा राजनीतिक दलको सचिवसम्म बने । अनुराधाले पनि खड्गबहादुरझैं राष्ट्र–समाज–समुदायले भोगेको, विकराल रूप धारण गरेको देह व्यापारको रोगलाई जरैबाट उखेलेर फ्याँक्ने जमर्को गर्दै छिन् ।

सरकार–राजनीतिक दल–न्यायालय–समाज सबैले एक भई यो राष्ट्रिय रोगलाई उन्मूलन गर्नैपर्ने हो । नेपालजस्तै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका पनि ऐतिहासिक रूपमा पीडित रहेकाले नै सन् २००२ मा सार्कस्तरमा यसमाथि विशेष हमला गर्न सामूहिक सम्झौतामाथि हस्ताक्षर नै गरेका छन् । तर सार्कका अन्य कार्य र कार्यक्रमझैं यो सम्झौता पनि कार्यान्वयन हुनै सकेन । सरकारहरूको सम्झौता फेल भयो, अब जनता–जनार्दनबीच सम्झौता हुनुपर्छ । अनुराधा कोइरालाले आफ्नो जीवनको यात्रामा यो काम फत्ते गर्नु नै पर्छ, सबै–सबैलाई साथमा लिएर । खड्गबहादुर सिंह विष्टले हीरालालको हत्या गर्दा देखेको सपना तब मात्रै पूरा–विफना हुन्छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024